कैलाली कारागारमा व्यवसायी पालीको मृत्यु प्रकरणः छानबिन समिति गठन भएपछि डडेल्धुरामा जारी आन्दोलन स्थगित
डडेल्धुरा–डडेल्धुराका व्यवसायी हरि सिंह पालीको कैलाली कारागारमा मृत्यु भएपछि घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन गरिएको छ।
छानबिन प्रक्रिया अघि बढेपछि मृतक व्यवसायी पालीको न्यायका लागि डडेल्धुरामा बुधबारदेखि शुरु भएको आन्दोलन हाललाई स्थगित गरिएको छ। घटनाको सत्य तथ्य पत्ता लगाउन कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय कैलालीका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवल्दार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय पाली बैंकिङ कसुर मुद्दामा पक्राउ परेका थिए। असार २ गते राति कैलाली कारागारको बाथरुम नजिक अचेत अवस्थामा भेटिएका उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ सोही रात उनको मृत्यु भएको हो। मृतकका परिवारले शरीरमा चोटपटक देखिएकाले हत्या भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। पीडित पक्षले शव बुझ्न मानेका छैनन् भने सात पहाडी जिल्लाको यातायात सेवा ठप्प पारेर डडेल्धुरामा बुधबार आन्दोलन भएको थियो। घटनाको विरोधमा डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमा बुधबार राजमार्ग र बजार बन्द गरिएको हो।
छानबिन समिति गठन भइसकेको, किटानी जाहेरी दर्ता भएको र केन्द्रबाट पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली आउने सहमति जुटेपछि डडेल्धुरा उद्योग बाणिव्य संघले आकस्मिक रुपमा आह्वान गरिएको बन्द कार्यक्रम स्थगित गरेको जनाएको छ। संघले दोषी पक्राउ गरी कानुनी कारबाही नभएसम्म आन्दोलनको कार्यक्रम पुनः सुरु गर्ने चेतावनी दिएको छ। जिल्लास्थित बिभिन्न राजनीतिक दलहरु, नागरिक समाज र पीडितका आफन्तजनहरुले घटनाको विरोध गर्दै आन्दोलनमा सहभागिता जनाएका थिए। आन्दोलनका कारण दिनभर सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरिक्षक हरिजित नाथले पालीबिरुद्ध दर्ता गरेको बैकिङ कसुर मुद्दामा जिल्ला अदालत कैलालीले दुई लाख रुपैयाँ बिगो र १० दिन कैद सजायको फैसाला सुनाएको हो। फैसला कार्यान्वयनका क्रममा डडेल्धुरा प्रहरीले मृतक पालीलाई पक्राउ गरेर कैलाली प्रहरीलाई बुझाएको थियो।कैलाली प्रहरीले जिल्ला अदालत कैलालीमा पेश गरेपछि मृतक पालीलाई कैलाली कारागार चलान गरिएको थियो। पक्राउ परेपछि पालीका आफन्त जगदिश रावलले जेठ २ गते प्रहरी नायब निरीक्षक नाथको खातामा ८५ हजार रुपैयाँ जम्मा पनि गरेका थिए।
कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दे सत्यतथ्य छानबिनको माग गरेका छन् । मृतक पालीको शरीरभरि निलडाम भएको भिडियो पनि सार्वजनिक भएको छ। यता सई नाथले भने मृतक पालीका आफन्तले लगाएको आरोपमा कुनै सत्यता नभएको बताए । पीडित पक्षले दिएको जानकारीअनुसार नाथसंग पालीले दुई लाख रकम लिएको कुरामै सत्यता छैन । ‘पाली कस्मेटिक व्यापारी हुन्, उनले भारतबाट सामान पनि ल्याउने गरेका थिए,’ एक आफन्तले भने, ‘सामानबापतको रुपैयाँ पालीले दिन नसकेपछि उक्त रकम असुली गराउन नाथ लागेका थिए। सोही कारण नाथकै नाममा पालीले चेक दिएका हुन्।’