डडेल्धुरा–आर्थिक बर्षको अन्त्यतिर आईपुग्दा हालसम्म सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगत खर्च ३२.६० प्रतिशत मात्र गर्न सकेको छ।
पुँजीगततर्फको १८ अर्ब ७५ करोड ५९ लाख बजेट छुट्याएकामा ६ अर्ब ११ करोड निकासा भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। त्यस्तै, चालूतर्फ १२ अर्ब ७७ करोडमा ५२।२५ प्रतिशत खर्च भएको छ। प्रदेशको कुल खर्च भने ५६।९१ प्रतिशत छ। गत आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको पुँजीगत खर्च ४१.७३ प्रतिशत र चालू खर्च ४९.१५ प्रतिशत थियो । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएका योजना कार्यान्वयन हुन नसक्दा बजेट खर्च न्यून देखिएको हो । आर्थिक वर्ष सुरु भएको करिब दुई महिनापछि बजेट आएकाले पनि खर्च कम देखिएको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले बताए । ‘बजेट ढिलो आयो, योजना कार्यान्वयन हुन नसक्दा खर्च कम भएको देखिन्छ,’ उनले भने ।
वैशाख मसान्तसम्म पुँजीगत खर्च २३.९५ प्रतिशत मात्र थियो। सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष एक अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य लिएको थियो। हालसम्म करिब एक अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक जोशीले जानकारी दिए। उनले असार मसान्तसम्म राजस्व संकलन लक्ष्यनजिक पुग्ने अनुमान रहेको बताए। आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बजेट ढिलो आउनु, योजना संख्या बढी हुनु र धेरै योजना एउटै शीर्षकमा राखिनुले बजेट कार्यान्वयनमा समस्या भएको बताए । सरकारले यस वर्ष ६–७ वटासम्म योजनालाई सँगै जोडेर बजेट विनियोजन गरेको थियो । ‘त्यस्ता योजना टुक्र्याएर कार्यान्वयनमा लैजान समस्या भयो,’ बमले भने, कार्यान्वयन गर्ने जनशक्तिले धान्न नसक्ने गरी योजना संख्या पनि धेरै भयो ।’ चालू वर्षको बजेटमा करिब १८ हजार योजना समेटिएका उनले जानकारी दिए ।