गणेशबहादुर मगर
डडेल्धुरा–सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ डडेल्धुराको पाँचौं जिल्ला परिषद बुधबार डडेल्धुरा सदरमुकाममा सम्पन्न भएको छ।
‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नाराका साथ पाचौँ जिल्ला परिषद सम्पन्न भएको सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ डडेल्धुराले जनाएको छ। जिल्ला महासंघका अध्यक्ष अमरबहादुर भाटको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै महासंघकी केन्द्रीय सदस्य कमला विष्टले सामुदायीक वनको अवधारणा कार्यान्वयनमा आएदेखि वन संरक्षण, सम्वद्र्धन र विकासमा उपभोक्ताहरुले उल्लेख्य योगदान पुगाई रहेको जिकिर गरिन्। उनले सरकारले सामुदायीक वनलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने आवश्यकता औल्याँइन्।
कार्यक्रममा डिभिजन वन कार्यालय डडेल्धुराकी निमित्त डिभिजनल वन अधिकृत पुष्पाञ्जली आचार्यले सामुदायीक वनको आम्दानीबाट उपभोक्ताहरुले समुदायको विकासका लागि महत्वपुर्ण योगदान पुगाएको दाबी गरिन्। सरकारले सामुदायीक वन क्षेत्रको समग्र विकासका लागि समयानुकुल कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै उनले उपभोक्ताहरुले सुफथ मुल्यमा वन पैदावार उपभोग गर्न पाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका पदाधिकारीका साथै विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता थियो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहहरुले भोग्नु परेको समस्या र चुनौतिहरुका साथै सामुदायिक वनको दिगो व्यवस्थापनका विषयमा विषयमा छलफल गरिएको महासंघकी केन्द्रीय सदस्य विष्टले जानकारी दिइन्।