बाजुराको जगन्नाथमा जीप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित तीनजनाको मृत्यु

मार्तडी–बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

दुर्घटनामा नेपाल टेलिकम दुरसञ्चार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जीप चालक कर्ण महत र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराले जानकारी दिए।

दुर्घटनामा परेर बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरूको उद्धार गरी तत्कालै कोल्टी आधारभूत अस्पताल लगिएको सूचना अधिकारी बोहोराले बताए । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन्।

नेपाल टेलिकमअन्तर्गत दुरसञ्चार प्राधिकरणको टोली सवार बा ५ च २२०९ नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो। दुर्घटनाबारे अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

You might also like