लालढुङ्गा बजारका ६४ घरधुरी अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

आँशु भण्डारी
जोगबुडा–डडेल्धुराको भित्रिमधेस क्षेत्रको केन्द्र विन्दु मानिने परशुराम नगरपालिका–१२ लालढुङ्गा बजारका ६४ घरधुरी अवव्यस्थित बसोबासीले आफुले चलनभोग गर्दै आएको जग्गाको जग्गाधनी पुर्जा पाएका छन्।

३०२६ सालदेखि बसोबासगर्दै आएका सर्वसधारणाई सोमबार परशुराम नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर जग्गाधनी प्रमाण पत्र बितरण गरेको हो। २०५५ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच गरी जग्गा धनी दर्ता पुर्जा दिइसकेको तर सो दर्ता प्रकृयाले बैधता नपाएकाले पुनः जग्गा दर्ता गरेर जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको हो।

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय काली देबी कामीलाई जग्गाधनी पुर्जा वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा सबैभन्दा पहिले जग्गा दर्ता प्रकृया आरम्भ गरेर राजस्व जम्मा गर्ने स्थानीय प्रेमबहादुर बोहरालाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो। परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायर जोशीको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको प्रमुख आतिथ्यतामा जग्गाधनी पुर्जा हस्तान्तरण तथा बितरण कार्य सम्पन्न गरिएको परशुराम नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्।

कार्यक्रममा भुमि समस्या समाधान आयोगका अध्यक्ष, हरिप्रसाद रिजाल, सुदुरपश्चिम प्रदेशका भुमि कृषि सहकारी मन्त्री वीरबहादुर थापा लगायत उच्च अधिकारीहरुको सहभागिता थियो। परशुराम नगरपालिकाको केन्द्र लालढुङ्गा वजारका ६४ जना जग्गा धनीलाई पुर्जा बितरण गरिएको र जिल्लाका अन्य क्षेत्रमा पनि छिटै जगगा धनी प्रमाण पुर्जा बितरण गरिने आयोगका डडेल्धुरा अध्यक्ष कैलासकुमार पाण्डेयले जानकारी दिए।

जिल्लाको आलिताल गाउँपालिकाका १९ जना दलित, भूमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारी भइरहेको नापी कार्यालय डडेल्धुराका प्रमुख देबदत्त पाण्डेयले बताए । लालढुङ्गा बजारका ७२ घरधुरीको एक सय ९ कित्ताको जग्गा दर्ता गरिएको छ। आयोगले भित्रिमधेस क्षेत्रकै आलिताल गाउँपालिका वडा.न. ८ मा सात घरधुरी र वडा नं. ४ मा चार घरधुरी भुमिहिन दलित,भुमिहिन सुकुम्बासीको जग्गा दर्ता गरिसकेको छ।

आलिताल गाउँपालिका–५ भावरका एक सय ६७ जग्गा धनीको जग्गा दर्ता गर्ने कार्य भइरहेको नापी टोली नं २ का टोली प्रमुख नवीन जोशीले बताए । आलिताल गाउँपालिका–८ स्यालचौडी, मौरी, हम्तड, कालाकोट, चीरान र गोदाम बजारमा हाल जग्गा नापजाँच कार्य भइरहेको छ। आयोगले गन्यापधुरा गाउँपालिका–का ७९ परिवारको जग्गा दर्ता प्रक्रिया तत्काल थाल्ने नापी टोली नं ३ टोली प्रमुख लोकेन्द्र पनेरुले बताए। नवदुर्गा गाउपालिकाको वडा.न.१ मा हाल जग्गा नापजाँच कार्य थालिएको छ।

You might also like