धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट अधिवेशनको पूर्वसन्ध्यामा शनिबार बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुङ्गिएको छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आइतबार प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिसकेका छन्। अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ। आगामी नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा मुख्यमन्त्रीले बोलाएको छलफलमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आफ्नो पुरानै अडान दोहोर्याएपछि सहमति हुन नसकेको हो। सरकारले जथाभावी नियुक्ति गरेर राज्यमाथि व्ययभार बढाएको, सुशासनको नारा लगाउँदै आए पनि अनियमित खर्च गर्दै आएको, वनमन्त्रीको विवादित अडियो सार्वजनिक हुँदा पनि छानबिन नगरेकोलगायतका आरोप माओवादी केन्द्रसहितका विपक्षी दलहरूले लगाइरहेका छन्। उनीहरूले आफूहरुको माग सम्बोधन नहुँदासम्म प्रदेशसभा बैठक सुचारु गर्न नदिने भन्दै निरन्तर अवरोध गर्दै आएका थिए।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलको लगातारको अवरोधपछि चैत २५ मा प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरिएको थियो। शनिबार मुख्यमन्त्रीले बजेट अधिवेशनको लागि छलफल गर्न बोलाउँदा माओवादी केन्द्रले आफ्ना पुरानै माग र अडान दोहो¥याएको छ। बैठकमा मुख्यमन्त्री शाहले अधिवेशन नियमित सञ्चालन गर्न नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा प्रतिपक्ष दलको पनि साथ मागेका थिए । उनले सहभागी दलका नेताहरूसँग संसदलाई प्रभावकारी बनाउने र नागरिकका समस्याहरू समाधानमा केन्द्रित रहने गरी परिणाममुखी कार्यसम्पादनमा सरकार प्रतिबद्ध रहेको समेत जनाएका थिए। चालु आर्थिक वर्षमा देखिएका समस्या सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको मुख्यमन्त्री शाहले बताउँदा पनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र आफ्नो अडानबाट पछि नहटेको कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए। विवादित अडियो प्रकरणको विषयमा अख्तियारले छानबिन गरिरहेको बताउँदा पनि सहमति नजुटेको उनको भनाइ थियो। शनिबार भएको छलफलले निकास नदिएपछि आइतबार बिहान १०ः३० बजे कार्य व्यवस्था परामर्श समितिमा यस विषयमा निकास खोज्ने सहमति भएको प्रमुख सचेतक धामीले जानकारी दिए।