झलारी–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन गर्न माटो परिक्षण गर्न थालिएको छ।
शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगर खेतीलगायतका लागि सम्भाव्यता अध्ययन गरेको हो। नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बढाऐरले कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर अध्ययन भइरहेको जानकारी दिए। प्रत्येक वडामा माटोको नमूना परीक्षण गरी बालीका लागि वडागत रुपमा सम्भाव्यता अध्ययन गरिएको उनले बताए ।‘गत वर्ष घुम्ती माटो परीक्षण टोलीलाई नगरपालिका क्षेत्रमै बोलाएर नमूना परीक्षण सम्पन्न भयो’ उनले भने, ‘त्यसपछि कुन वडामा कुन बाली फस्टाउन सक्छ, किसानले लगाएको कुन बालीले बढी उत्पादन दिन थालेको छ भनेर निरीक्षण, अवलोकन गरेपछि वडागत रुपमा बालीको वर्गीकरण गरेका छौं।’
उनका अनुसार वडा नं– १,२, ३, १२ मा उखु खेतीका लागि उपयुक्त माटो छ भने, वडा–२, ३, ७, ८ र ९ मा तरकारी खेती र वडा–५, ६, ७, ८, ९ मा फलफूल, मौरीलगायत प्रांगारिक खेतीका लागि उपयुक्त रहेको छ। त्यसैगरी खाद्यान्न बालीका लागि वडा नम्बर–३, ४, ५, ६, ९, १०, ११ र वडा नम्बर–३, ११ र १२ मा बगर खेतीका लागि उपयुक्त मानिएको छ। सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक तीन वर्षे योजना बनाएर लागु गर्ने योजना अघि सारिएको छ । सम्भाव्यता अध्ययनको कार्य अनुसार मूल तथा स्रोत बीउमा आधारित धान, गहुँ, तोरी, मसुरो बालीमा अनुदान, लक्षित वर्गका लागि मागमा आधारित च्याउ, फलफूल, तरकारी, आलु खेतीसँगै मौरी, कुखुरा, माछा हाँस पालन कार्यक्रम, स्थानीय थारु आलु प्रवर्द्धन, प्याकेजिङ, ब्राण्डिङ, स्टोरेज लगायतका कार्यक्रम सञ्चालन गरिने छन्।
खाद्यान्नबाली, तरकारी, च्याउ, मसुरो, तोरी, बालीको उन्नत बीउ वितरण, प्रांगारिक खेती प्रणाली अपनाइ प्रांगारिक गाउँ स्थापना गर्ने, व्यावसायिक किसानलाई अनुदानमा कृषियन्त्र र उपकरण सहयोग गर्ने कार्यसँगै बगर खेतीमा आधारित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको शाखा प्रमुख बुढाऐरले बताए। ‘व्यावसायिक फलफूलखेती गर्ने किसानलाई जग्गा भाडामा अनुदान, नयाँ बगैंचा स्थापना, पुरानो बगैंचा सुदृढीकरण गर्ने कार्यक्रम अघि सारिएको छ’ उनले भने,‘नहर नपुगेका ठाउँमा साना सिँचाइ कार्यक्रम लागु गर्ने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु राख्नका लागि दुई सय मेट्रिक टन क्षमताको कोल्डस्टोर स्थापना गर्ने कार्यक्रम योजना रहेको छ।’
शुक्लाफाँटा नगरपालिकामा कूल खेतीयोग्य जमिन पाँच हजार २३७.०५ हेक्टर रहेको छ। किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल पाँच हजार एक सय हेक्टर रहेको छ भने, कृषि पेसामा निर्भर किसान ९० प्रतिशत छन् । कूल सिञ्चित क्षेत्रफल तीन हजार ५४० हेक्टर रहेको छ।