डडेल्धुरा–लामो कसरतपछि राजावादी शक्तिहरु अन्ततः एक ठाउँ आइपुगेका छन्। उनीहरुले आज शुक्रबार संयुक्त साझा आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी छ।
बेग्लाबेग्लै गरेका आन्दोलनहरु अपेक्षितरुपमा प्रभावकारी हुन नसकेपछि राजावादीहरु सहकार्यमा आउन बाध्य भएका हुन्। यसअघि जुँगाको लडाईंले गर्दा राजावादी नेताहरुले एक–अर्काको अस्तित्व स्वीकार्न सकिरहेका थिएनन्। साझा आन्दोलन गर्नुपर्नेमा सबै सहमत भए तापनि कसले नेतृत्व गर्ने भन्नेमा हानाथाप थियो। अहिले राजावादीलाई एक ठाउँमा ल्याउन ल्याउन निर्मल निवासले पनि भूमिका खेलेको बुझिएको छ।
आज शुक्रबार आयोजना गरिने आन्दोलन घोषणा कार्यक्रम नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गर्न लागेको हो । आन्दोलन घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी हुने तय भएको छ। लिङदेन पहिलोपटक सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको कार्यक्रममा जान लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे।
संयुक्त आन्दोलनमा आन्दोलनमा जाने भइसकेपछि राप्रपाले बेग्लै आन्दोलन गर्छ कि गर्दैन भन्ने प्रश्नमा श्रेष्ठले पछि छलफल हुने जवाफ दिए। राप्रपा अध्यक्ष लिङदेन यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गरेको कार्यक्रममा पनि अतिथिको रुपमा पुगेका थिए। यसअघि राप्रपा नेपाललाई खासै राजनीतिक मान्यता नदिएका लिङदेन कमल थापाको निम्तो माग्न पुग्नुले राप्रपाको रणनीतिक फेरबदललाई संकेत गरेको थियो। आन्दोलन घोषणा कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (वीपी)का सभापति सुशीलमान शेरचन, शिव सेना नेपालका अनिल बस्नेतलगायतले पनि सहभागिता जनाउने छन्। संयुक्त आन्दोलनलाई ५० भन्दा बढी संघसंस्थाले समर्थन र ऐक्यवद्धता जनाउने दावी गरिएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसबाट संयुक्त आन्दोलनको घोषणा हुने राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए ।