सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह

डडेल्धुरा–सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकासमा सहयोग गर्न छिमेकी मुलुक भारतलाई आग्रह गरेका छन ।

एकहप्ते भारत भ्रमणको क्रममा दिल्लीमा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहसँगको भेटवार्तामा उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि सहयोग गर्न आग्रह गरेका हुन् । भारतले नेपालको विकासका लागि सहयोग गर्दै आएको भन्दै उनले प्रशंसासमेत गरेका छन् । भारतको तिकुनियादेखि कैलालीको खक्रौंलासम्मको सडक चाँडै सम्पन्न गर्ने सम्बन्धमा मुख्यमन्त्री शाह र विदेश राज्यमन्त्री सिंहबिच छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

भेटघाटको क्रममा मुख्यमन्त्री शाहले दार्चुलामा निर्माणाधीन पुलको काम छिट्टै सम्पन्न गर्न आग्रह गरे । बैतडी र डडेल्धुरामा पनि सिमावर्ती महाकाली नदीमा पुल निर्माणको प्रकृया चाँडै सुरु गर्नुपर्ने विषयमा पनि मुख्यमन्त्री शाहले भारतसमक्ष कुराकानी गरेका थिए । मुख्यमन्त्री शाहको टोलीले नयाँ दिल्लीस्थित प्रधानमन्त्री सङ्ग्रहालय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी, जलविद्युत् विकास सङ्गठन (एनएचपिसी) लिमिटेड र कृषि अनुसन्धान केन्द्रको अवलोकन गरेको छ ।

 

नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनीसँगको छलफलमा मुख्यमन्त्री शाहले सूचना प्रविधिको युगमा डिजिटलमैत्री प्रविधिको विकास गरी जनतालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको औँल्याए । यस्तै कृषि अनुसन्धान केन्द्रसँगको छलफलमा नेपालमा आधुनिक कृषि विकासका लागि सहयोग गर्न भारत सरकारलाई आग्रह गरेका थिए । नेपालमा काम गरिरहेको एनएचपिसीसँगको छलफलमा मुख्यमन्त्री शाहले पश्चिम सेती आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगे पनि आर्थिक अभावका कारण अगाडि बढ्न नसकेको बताए ।

 

एनएचपिसीसँगको छलफलको क्रममा पञ्चेश्वर जलविद्युत् आयोजना, फुकोट कर्णाली, वेतन कर्णाली र मुगुको कर्णाली जलविद्युत् आयोजनाको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा छलफल गरिएको थियो । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख २२ गतेसम्म भारत भ्रमणमा रहने छ ।

You might also like