दार्चुला–दार्चुलाको शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमा कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।
बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन् । शैल्यशिखर नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीका अनुसार सेवा सुविधाको कमीले गर्दा यहाँ बस्न रुचि कमैले देखाउने गरेका छन् । तोकिएको तलबबाहेक स्थानीय सरकारले थप बजेट दिएर चिकित्सक टिकाउनु परेको छ । अस्पतालमा हाल डा. मनोजबहादुर पाल र डा. उत्तमसिह धामी मात्रै कार्यरत छन् ।
अस्पतालसँग प्रयाप्त मात्रामा भौतिक पूर्वाधार छैन । आव २०५५/०५६ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदा निर्माण गरिएको भवनबाट सेवा दिनुपरेको छ । तीन शय्या भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अहिले १५ शैय्यामा पुर्याइएको छ । सडक मार्गले नजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन् । नगरपालिकाको स्रोतले मात्रै अस्पताल सञ्चानल गर्नमा समस्या भइरहेको छ ।
अरु कहिँबाट बजेट र उपकरण सहयोग नआएपछि अस्पतालको अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ । यो अस्पतालमा दार्चुलाका लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका बिरामी चेकजाँचको लागि आउने गर्छन् । यस्तै छिमेकी जिल्ला बैतडीको डिलाशैनी नगरपालिका, दोगडाकेदार गाउँपालिका, पूर्चौडी नगरपालिका र बझाङको बुङ्गल नगरपालिकाका सेवाग्राही अस्पतालमा पुग्ने गरेका छन् ।
गोकुलेश्वरमा निको नहुने बिरामी डडेल्धुरा अस्पताल वा धनगढी रिफर गर्न सजिलो हुने भएकाले यहाँको अस्पताल बिरामीका लागि पहिलो रोजाइ बन्ने गरेको अस्पतालका चिकित्सक डा.पालले बताए । अस्तालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चाँसो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । अस्पताललाई प्रदेश सरकार मातहत लगाउने विषयमा छलफल भइरहेको नगर प्रमुख विजयसिह धामीले बताए ।
अस्पतालको अल्ट्रासाउण्ड मेसिन बिग्रिँदा बिरामीको जाँचमा समस्या भएको छ । तीन महिनादेखि अल्ट्रासाउण्ड मेसिन बिग्रिएको अस्पतालले जनाएको छ । चिकित्सक पालका अनुसार अस्पताल आउने बिरामीको भिडियो एक्सरे नहुँदा सास्ती छ । यहाँका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब लगायतका सेवा सुविधा पाएका छैनन् । तलबसमेत समयमै नआउँदा स्वास्थ्यकर्मीलाई काम गर्न धौ–धौ भइरहेको छ । संघीयअन्तर्गत कार्यरत कर्मचारीले समयमै तलब पाए पनि स्थानीय तह र स्थानीय तहले थप गर्नुपर्ने सेवा सुविधा समयमै नपाउँदा स्वास्थ्यकर्मीलाई समस्या भएको छ । नगरपालिकाले करारमा भर्ना भएका कार्यालय सहयोगी, स्वीपरदेखि अहेवसम्म १५ कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् ।