खुमलटारमा खगराज र धामी पक्षबीच चर्काचर्की

सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रयास असफल

डडेल्धुरा– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलमा लामो समयदेखि व्याप्त विवाद समाधान गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार गरेको प्रयास असफल भएको छ ।

संसदीय दलको नेता खगराज भट्टलाई बनाउने केन्द्रको निर्देशन र परिपत्र कार्यान्वयन नभएपछि प्रचण्डले संसदीय दललाई बुधबार निजी निवास खुमलटार बोलाएका थिए ।  तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड काठमाडौँ पुगेका थिए । तर दुवै पक्षबिच चर्काचर्की भएपछि बैठक छलफल बिना निष्कर्ष टुंगिएको थाहा भएको छ ।

बैठकमा भट्ट पक्षधरले पटकपटक केन्द्रको निर्देशन संसदीय दलका नेता मानबहादुर धामीले उल्लघंन गरेकाले विवाद केन्द्रले नै मिलाउनुपर्ने अडान राखेकोमा धामी पक्षका सांसदहरूले भने प्रक्रियाबाट संसदीय दलको नेता चुनिएकाले प्रक्रियाबाट नै हटाउन चुनौती दिएका थिए । दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि अध्यक्ष प्रचण्डले संसदीय दलमा उत्पन्न विवाद प्रदेशमै गएर मिलाउन निर्देशन दिएका छन ।

धामीको पक्षमा सांसदहरू अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र झपटबहादुर साउँद उभिएका थिए । भट्टको पक्षमा गीतादेवी माल, रमेशसिंह धामी, शिवसिंह ओली र जानकीदेवी कुँवर उभिएका थिए । संसदीय दलमा माओवादीको ११ जनामध्ये भीमबहादुर भण्डारी सभामुख छन । २०८० माघ १२ गते सम्पन्न माओवादी संसदीय दलको बैठकले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो । त्यसयता विवाद चर्किंदै गएको छ ।

विवाद मिलाउनका लागि फागुनको पहिलो हप्ता माओवादी केन्द्रले भट्टको विषयमा अलग्गै परिपत्र पठाएको थियो । यसअघि अध्यक्ष प्रचण्डले पटकपटक दिएको निर्देशन र दुई पटक पठाएको परिपत्र कार्यान्वयन हुन सकेको छैन ।  सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले विवाद मिलाउन धामीलाई प्रचण्ड निवास खुमलटार बोलाएका थिए । उनले संसदीय दलको बैठक नमानेपछि प्रचण्डले संसदीय दललाई नै काठमाडौँ बोलाएका हुन ।

परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माविमा सम्पन्न कार्यक्रममा सहभागी भएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाद मिलाउन गरेको प्रयास असफल भएको थियो । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादन र संसदीय दलका नेताको भूमिकालाई लिएर बढेको विवाद कारबाहीसम्म पुगेको थियो । त्यतिबेला खासगरी संसदीय दलका नेता भट्टको भूमिकालाई लिएर अहिलेका संसदीय दलका नेता रहेका धामीसहित छ जना सांसदले तीव्र असन्तुष्टि जनाएका थिए ।

गत पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्री फिर्ता र संसदीय दलको नेतालाई कारबाही गर्नुपर्ने मागदाबीसहित उनीहरूले लिखित पत्र बुझाएका थिए । दलको नेता परिवर्तनको विषयमा अध्यक्ष प्रचण्डबाट सकारात्मक सन्देश पाएका बहुमत सदस्यले भट्टलाई दलको नेताबाट हटाएका थिए । सुदूरपश्चिमका पुराना अनुभवी नेता रहेका भट्ट जिम्मेवारीविहीन भएपछि विवाद केन्द्रसम्म चर्किएको हो । विवाद समाधान गर्न भट्टलाई संसदीय दलको नेता बनाउन पार्टीले गरेको पहल निरर्थक बनेको छ ।

You might also like