डडेल्धुरा–हिन्दुधर्मावलम्वीहरुले बुधबार धार्मिक परम्पराअनुसार विधिपुर्वक भवगवान शिवको पूजाअर्चनागर्दै महाशिवरात्री पर्व मनाएका छन ।
महाशिवरात्रि पर्वका अवसरमा आराध्यदेव पशुपतिनाथसहित मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो । महाशिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा पुण्य प्राप्ति र मनोकामना पूरा हुने जनविश्वाससहित बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो ।
डडेल्धुरा सदरमुकाम स्थित शिवालय, सहश्रलिंग, अशिग्राम मन्दिर, शैलेश्वर महादेव, भागेश्वरधुरा, श्यालचौडी, अशिग्राम केदार मन्दिर, महादेव मन्दिर, सिद्धाथान, वैजनाथ मन्दिर, समैजी मन्दिर लगायत जिल्लास्थित शिवालयहरुमा विविध धार्मिक कार्यक्रमअनुसार महाशिवरात्री पर्व धुमधामसाथ मनाइएको छ ।

महाशिवरात्रीका अवशरमा नित्य पूजा अर्चनासँगै कतिपय स्थानमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय डडेल्धुरा शाखाको आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
शाखाकी प्रमुख ब्रह्माकुमारी गंगाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी थिए डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता थियो ।
नवदुर्गा गाउँपालिकाको डाँडावनस्थित शिवालयमा पनि धार्मिक अनुष्ठानसँगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबारदेखि अखण्ड रामायण र भजन किर्तनसँगै महाशिवरात्रीको दिन विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको शिवपुरी मन्दिर व्यवस्थापन समिति डाँडावनका अध्यक्ष पण्डित यदुनाथ उप्रेतीले जानकारी दिए ।
कार्यक्रमको समुद्घाटनगर्दै सुदूरपश्चिम प्रदेशसभाका पुर्व सांसद, प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस (विपी) का नेता कर्णबहादुर मल्लले महाशिवरात्री पर्वले सम्पुर्ण मानव जगतमा आपसी सदभाव र प्रेम भाईचाराको सम्बन्ध स्थापित गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, विपी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति करुणाकर भट्ट, एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही, राप्रपाका नेता लक्ष्मण ऐर, वडाध्यक्ष भक्त कठायतलगायतका विशिष्ठ ब्यक्तिहरुले मन्तब्य राखेका थिए । चर्चित डेउडा गायक जीआर भट्ट र गंगा खत्रीबीच प्रतिष्प्रर्धात्क डेउडासँगै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
भित्रिमधेस क्षेत्रको स्यालचौडी मन्दिरमा पनि विविध सांस्कृतिक कार्यक्रमसँगै महाशिवरात्री पर्व सम्पन्न भएको छ । धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरीधाम, घोडाघोडी, महेन्द्रनगरस्थित शिवालय, दार्चुलाको गोकुलेश्वर, बैतडीको पाताल भुवनेश्वरधाम, बनारशी विश्वनाथधाम, पुर्चौडीको भाटनास्थित महादेव मन्दिरसहित सुदूरपश्चिम प्रदेशका शिवालयहरुमा धार्मिक मेलासँगै सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएको जनाइएको छ ।
