उत्साहजनक रुपमा आलु उत्पादन भए पछि किसानहरु दंग

उत्साहजनक रुपमा आलु उत्पादन भए पछी डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं.२ का किसानहरु अहिले  दंग देखिन्छन् ।
नवदुर्गा गाँउपालिका वडा नं.२ का बेडुपानी, बेल्तडा र अंगडेगडाका किसानहरुको बारीमा उल्लेखनीय रुपमा आलु फस्टाए पछी किसानको खुसीको सिमा रहेको छैन ।
सामान्यतया घरायसी प्रयोजनका लागी तरकारी खेती गर्ने गरेका नवदुर्गा गाउपालिका वडा नं.२ का किसानहरु यो वर्ष भने निकै उत्साहित भएका छन् ।


करिव ४ वर्ष पहिले देखी व्यवसायिक रुपमा आलुखेती सुरु गरेको भए पनि विगतको वर्षहरु भन्दा यो वर्षको उत्पादनले निकै खुसी दिएको आलुबारीमा भेटिएका किसानले बताए ।


यो वर्ष वडा नं.२ का बेडुपानी, बेल्तडा र अंगडेगडामा करिव ७५ परिवारले व्यवसायीक रुपमा आलुखेती थालेकाछन् । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाको परियोजना कार्यान्वयन एकाई डडेल्धुरा र नवदुर्गा गाउँपालिकाले किसानहरु लाई आलुखेतीमा सघार्ईरहेको छ ।
यो वर्ष परियोजनाको तर्फ बाट १ सय ५० कुईन्टल तथा पालिकाको तर्फ बाट ५० कुईन्टल विउ सहयोग भएको हो । बिउ मात्र होइन त्यहाँका किसानहरु लाई प्राविधिक सहयोग स्वरुप विभिन्न तालिम तथा प्राविधिकहरु बाट बेलाबेलामा फोन गरेर भए पनि किशानहरु लाई सुझाव दिएको किसान बताउछन् ।

जय बहादुर विष्ट, स्थानिय किसान

 

अहिले बेडुपानीका किसानले मात्र करिव २ सय कुईन्टल आलु आफ्नै बारीमा प्रति किलो ४२ का दर ले बेचिसकेका छन् भने अझै आलु खन्न बाकी रहेको स्थानिय कृषक जय बहादुर बिष्ट बताउछन् । विष्ट भन्छन तरकारी खेती राम्रो संग गर्न सक्यो भने स्थानिय स्तरमै रोजगारी श्रृजना गर्न सकिन्छ ।
उसो त प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाको परियोजना कार्यान्वयन एकाई डडेल्धुराका अनुसार डडेल्धुरामा यो हिउदे सिजनमा ६५० हेक्टरमा आलु लगाइएकोेछ भने यो सिजनमा डडेल्धुरामा ११ हजार मेट्रिक टन आलु उत्पादन हुने प्रक्षेपण गरिएकोछ ।

भिष्म राज रेग्मी कृषि अधिकृत, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाको परियोजना कार्यान्वयन एकाई डडेल्धुरा

 

बदलिदो मौषम,रोग किराको प्रकोप र कुनै विपद नभएको खण्डमा निकै राम्रो उत्पादन लिन सकिने परियोजना कार्यान्वयन एकाई डडेल्धुराका कृषि अधिकृत भिष्मराज रेग्मी बताउनुहुन्छ ।
डडेल्धुराको नवदुर्गा मात्र होईन अन्य पालिकाहरुमा पनि आलुका साथै अन्य विभिन्न तरकारीहरुको उत्पादन निकै उत्साहजनक रुपमा भईरहेको छ ।

राम सिँह बोहरा,सूचना अधिकारी, कृषि ज्ञान केन्द्र डडेल्धुरा

 

हाल डडेल्धुरा बाट आलु बिउको रुपमा सुदूरपश्चिमका सबै जिल्लामा जाने गरेको र तरकारीका रुपमा देशका विभिन्न शहरमा जाने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका सूचना अधिकारी राम सिँह बोहरा बताउनु हुन्छ ।
देशमा पछिल्लो समय हरेक दिन रोजगारीका सिलसिलामा बाहिरिने युवा हरुको संख्या कम गर्न तथा देशमै खेती किसानी बाट केही हुदैन भन्नेहरुका लागी पछिल्लो समय कृषिमा देखिएको सकारात्मक नतिजाले पक्कै पनि उत्साहजनक सन्देश दिईरहेको छ ।

You might also like