
डडेल्धुरा-सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य स्थल मध्येको एक आलितालमा “हाम्रो साझा भबिष्यको लागि सिमसार क्षेत्रको संरक्षण” भन्ने मुल नाराका साथ विश्व सिमसार दिवस २०२५ मनाइएको छ ।
अक्सफाम नेपाल र ग्रामिण महिला विकाश तथा एकता केन्द्र (रुडुक) को संयुक्त साझेदारीमा संचालित जलाधार व्यवस्थापन तथा विकाश परियोजना अन्तरगत उक्त कार्यक्रमको आयोजना भएको हो ।
आलिताल गाउँपालिका वडा नम्बर ३ मा रेहेको आलिताल परिसरमा विश्व सिमसार दिवसको परिचय, भुमिका र राष्ट्रिय सिमसार नितिको बिषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमको संचालन गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउदले जानकारी दिएका छन् ।
कार्यक्रमको प्रमुख वक्ताका रुपमा रहेका आलिताल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढा मगरले आलिताल सुदूरपश्चिमकै प्रमुख पर्यटकिय स्थल रहेको बताए । ताल संरक्षणको जिम्मा स्थानिय सरकारको भएको र आफुहरु त्यस बिषयमा लागिपरेको बुढाको भनाई थियो । उनले आलिताल गाउँपालिकाको स्थानिय र वडा सरकारले आलिताल संरक्षणको लागि चाहीने बजेट र आवश्यक सहयोग र समन्वयको लागि पहल गरिरहेको बताए । ताल क्षेत्रमा गाई बस्तु चरि चरन बन्द गरिएको र ताल क्षेत्रमा रहेका स(साना खहरे खोला नियन्त्रणको काम पनि भइरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका अर्का वक्ता जोरायल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामीले स्थानियको सहभागितामा ताललाई सुन्दरीकरण गरी आय आर्जन तर्फ उन्मुख गराउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अधिकांस बक्ताले आलिताल यस क्षेत्रकै महत्वपूर्ण ताल रहेकोले यस संरक्षण तथा सम्वद्र्धन गरी यसको लाभ लिनु पर्ने बताएका थिए ।
