डडेल्धुरा–जिल्लाभरिका झन्डै सात हजार किशोरीहरुलाई पाठेघरको क्यान्सरबिरुद्ध एचपीभी खोप लगाइन डडेल्धुरामा सुक्ष्म योजना तर्जुमा गरेर कार्यान्वयन गरिन थालिएको छ ।

सोमबार डडेल्धुरा सदरमुकामा सम्पन्न जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय डडेल्धुराले सुक्ष्म योजना बनाएर खोप अभियान प्रभावकारी बनाउन सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
अगामी साता माघ २२ देखि ३० गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन भइरहेको स्वास्थ कार्यालय डडेल्धुराका अधिकृत हरि भट्टले बताए ।
उनकाअनुसार सरकारले कक्षा छ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका छ हजार नौ सय ८६ किशोरीलाई यो खोप दिन लागिएको हो । खोप अभियान अमरगढी नगरपालिकामा माघ २२ देखि ३०, परशुराम नगरपालिकामा २२ देखि २७, आलिताल, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा माघ २२ देखि २७ र भागेश्वर गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । यसअघि गत वर्ष पनि डडेल्धुराका तीन सय ८५ जना किशोरीलाई एचपीभी खोप दिइएको तथ्यांक स्वास्थ्य कार्यालय डडेल्धुरासँग छ । नेपालमा महिलामा हुने पाठेघर क्यान्सरबाट दैनिक औसत चार महिलाको मृत्यु हुने गरेको छ ।
