प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि एपीएफ लाई

डडेल्धुरा –कैलालीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लब ले जितेको छ ।

धनगढीस्थित फाप्ला मैदानमा शनिबार भएको फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १२ ओभर पाँच बलमा एक विकेट गुमाएर भेटायो ।

एपीएफका ममता चौधरी ४४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहे । राजमती ऐरी ४ रनमा रनआउट भएकी थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले १८ ओभर एक बलमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि मनिषा बोहाराले १८ तथा कप्तान बिन्दु रावलले १७ रन जोडिन् सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफका लागि कविता जोशीले ३ तथा सबनम राई र कप्तान इन्दुले समान २÷२ विकेट लिए । एपीएफले प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता एपीएफले पाँच लाख र उपविजेता बनेको सुदूरपश्चिम प्रदेशले तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो ।

You might also like