डडेल्धुरा-सुदूरपश्चिमको पहिलो महिला सार्वजनिक सवारी चालकको रुपमा बैतडीका रविना चन्दलाई सम्मानित गरिएको छ ।कञ्चनपुर जिल्लाको महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले महिला सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मानित गरेको हो ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का घर भएकी १९ बर्षीया रविनाले एक बर्ष पहिला सवारी चालक अनुमति प्राप्त गरेकी थिइन् । त्यतिबेलादेखि उनी सार्वजनिक सवारी साधन चलाउँदै आएकी छन् ।
आफ्ना बुवा डबलबहादुर चन्दको प्रेरणा र घर परिवारको सहयोगबाट आफू सवारी चालकको रुपमा काम गर्न थालेको उनले बताए । घरमा गाडी भएपनि सवारी चालक नहुँदा आफूले सवारी चालक बन्ने सोच बनाएर अघि बढेको उनले बताइन् ।
नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित सम्मानित गरिएको जानकारी दिए ।
गाडी चलाउन सिकेको केही समयमै लाइसेन्स पनि निकालेकी रविना अहिले बैतडी–धनगढी–महेन्द्रनगर रुटमा गाडी चलाउँदै आएकी छन् । नेपाल यातायात मजदुर संघले गरेको सम्मानले आफूलाई पेशाप्रति थप प्रतिबद्ध भएर लाग्ने प्रेरणा मिलेको बताइन् ।