डडेल्धुरा-सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले बुधबार राति ड्युटीमा रहेका बेला आफैँलाई गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ । बिष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पतालमा लगिएको छ । के कारणले उनले आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीको भनाइ छ ।
यसअघि गत महिना पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने उपचारपछि अहिले घर फर्किएका छन् ।
पछिल्लो समय प्रहरी क्षेत्रमा कामको भार बढी हुनु, मानसिक तनावलाई कम गर्न सकिने क्रियाकलाप नहुनुले आफनो पेशा प्रती वितृष्णा फैलिनु पनि एक प्रमुख कारण हुन सक्ने जानकारहरुको भनाई रहेको छ ।