डडेल्धुरा-बुटवल स्थित सुप्रिम सहकारीसँग जोडिएको ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा नयाँ मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार अदालतमा ठगी र संगठित अपराधका आरोपमा मुद्दा दायर गरेको हो। सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीका अनुसार, यो मुद्दामा ४२ जनाविरुद्ध आरोप लगाइएको छ।
उनले भनिन्, “संगठित ठगीको आरोपमा मुद्दा दायर गरिएको छ। यसमा १४ नयाँ प्रतिवादी थपिएका छन्।”
यस मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनाको नाम सामेल गरिएको छ।
रवि लामिछानेविरुद्ध व्यक्तिगत रूपमा २ करोड र सामूहिक रूपमा २ करोड गरी कुल ४ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। २ करोड रुपैयाँको ऋण लामिछानेको नाममा भएको एक भौचरबाट पनि पुष्टि भएको थियो। यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंक मार्फत जम्मा भएको थियो।
सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि गृहमन्त्री रहेको बेला रवि लामिछानेको नाम जोडिएको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो। त्यस समयमा १,८३१ बचतकर्ताबाट ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको दाबी गरिएको थियो। अब थप १४ जना व्यक्तिलाई प्रतिवादी बनाइएको छ ।
बुटवल टुडे
