डडेल्धुरा-डडेल्धुराको गैरा गांखेत सडकको निर्माण कार्य समयमै नसकिँदा स्थानिय आक्रोशित भएका छन् भने भिमदत्त राजमार्गको गैरामा सडक चक्काजाम गरी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीसंग भएको सम्झौता बमोजिम निर्माण कम्पनिले काम सम्पन्न नगरेपछी स्थानिय आक्रोशित भएका हुन ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीसंग २०७८ साल माघ २६ गते जे.डि.एम.आर. बिल्डर्स काठमाण्डौले गैरा-गांखेत सडकको निर्माण कार्यका लागी सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार निर्माण थालिएको सडक २०७९ साल जेठ ३० गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि हालसम्म अधूरै रहेको छ।
जनताको दैनिकीमा यातायात असुविधा र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थपिएको भन्दै, वडा र पालिकाले पटक-पटक निर्माण कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन ताकेता गरेको तर कुनै ठोस प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ।
आलिताल गाउपालिका वडा नं.२ ले प्रेश विज्ञप्ती निकाल्दै आन्दोलनको चेतावनी दिएको छ । वडा अध्यक्ष प्रमोद बहादुर मल्लका अनुसार एक महिनाभित्र निर्माण कार्य सुरु नभए, स्थानीयवासी भिमदत्त राजमार्ग अन्तर्गत गैरा बजार क्षेत्रमा सडक अवरोधसहित आन्दोलनमा उत्रनेछन्। साथै उनले स्थानीयहरूले सरकार र सम्बन्धित निकायलाई निर्माण कम्पनीमाथि कारबाही गर्न, निर्माण कार्यलाई छिटो सम्पन्न गर्न नयाँ प्रक्रिया अपनाउन, र विकास योजनाको अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन्।
