कैलाली- कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा १९ देखि २८ माघसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा अर्जुन ट्रफी आयोजना हुन लागेको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले यसवर्षदेखि नेपाल क्रिकेट संघको क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागिएको बताए । फाप्ला मैदानमा हुने प्रतियोगिताका हेर्न दर्शकलाई बस्न कृत्रिम प्याराफिट पनि जडान गरिसकिएको अध्यक्ष शाहीले बताए । ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागिएको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ ।’
उनका अनुसार टी-२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले ५०-५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगितामा देशभरका आठ क्लबका टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा डिसिए धनगढी, सिवाइसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौं, फेन्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी-११ सुख्खड, न्यु होराइजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाइनेछ ।
‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ए, यु- १९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । ‘सी’ क्याटोगोरीमा यु-१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु-१९ र यु-१६ का खेलाडी र अन्य खेलाडी छन् । यस्तै, अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्रफी अनावरण गरेका हुन् ।