सुदूरपश्चिममा लेखा समूहका कर्मचारी आन्दोलित

कैलाली- सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत कार्यरत लेखा समूहका कर्मचारीको बैठकले वृत्ति विकासको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।

आन्दोलनका कार्यक्रमअन्तरगत उनीहरुले आइतबार प्रमुख सचिव कमलप्रसाद पोखरेल, आर्थिक मामिलामन्त्री बहादुुरसिंह थापा र अर्थ सचिव झलकराम अधिकारीलाई ध्यानकर्षण पत्र बुझाएका छन् ।

यस्तै, पुस २२ गतेदेखि २४ गतेसम्म प्रदेशका नौ वटै जिल्लाका प्रदेश लेखा कार्यालयमा लेखाका सबै कर्मचारी जम्मा भएर छलफल गर्ने, २५ पुसदेखि पेन डाउन गरेर लेखाका कार्यालयमा धर्ना दिने र आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने निर्णय समेत गरिएको छ ।

आन्दोलनका चरणहरूमा वृत्तिविकासको माग गरी पौष २१ गते मुख्यमन्त्री, प्रमुख सचिव आर्थिक मामिला मन्त्री र आर्थिक सचिवको ध्यानाकर्षण गर्ने पौष २२ गते देखी २४ गते सम्म नौ जिल्लाका नौ वटै प्रदेश लेखा इकाईमा भेला भई धर्ना दिने र पौष २५ गते देखी अनिश्चितकालीन पेन डाउन गर्ने गरी आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा धर्ना दिने रहेका छन् ।

प्रदेश सभाबाट पारित भएको सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकबाट नियमावली समेत स्वीकृत भइसकेको छ । उक्त ऐनमा प्रदेशमा समायोजन भएका जेष्ठ कर्मचारीहरुको बढुवा रोकेर कनिष्ठ कर्मचारीको मात्रै बढुवा गर्ने व्यवस्था राखिएको लेखा समूहका कर्मचारीको आरोप छ ।

सुदूरपश्चिम प्रदेशमा लेखा समूहका एक सय ३८ जना कर्मचारी समायोजन भएर आएका थिए तर प्रदेश निजामती सेवा ऐनले लेखा समूहका कर्मचारीको वृत्ति विकासको बाटो बन्द गरेका कारण करिब आधा जति कर्मचारी अवकाश भइसकेको उनीहरु बताउँछन् ।

यसअघि पनि लेखा समूहका कर्मचारीले आफ्नो वृत्ति विकास सुनिश्चित हुने गरी ऐन र नियमावली ल्याउन माग गर्दै पटक–पटक मन्त्री तथा सचिवहरुको ध्यानाकर्षण गराउँदै आएका थिए ।

 

You might also like