डडेल्धुरा-डडेल्धुराको परशुराम नगरपालिका स्थित नेपाल–भारत सीमा नदी महाकालीमा व्यवसायिक र्याफ्टिङ (जलयात्रा) को औपचारिक सुरुवात गरिएको छ। परशुराम नगरपालिकामा सम्पन्न दुई दिने मेयर सम्मेलनको समापन पश्चात जलयात्रा सुरु गरिएको हो। परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीका अनुसार निजी क्षेत्रको सहकार्यमा नगरपालिकाले महाकाली नदीमा र्याफ्टिङ सञ्चालन गरेको हो।
नगरप्रमुख जोशीले नगरपालिकासँग हाल दुई वटा र्याफ्ट रहेको जानकारी दिँदै जलयात्रा प्रवर्द्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र जारी गरिएको बताए। घोषणापत्रमा डडेल्धुराको परशुराम, कञ्चनपुरको भीमदत्त, बैतडीको दशरथ चन्द, र दार्चुलाको महाकाली नगरपालिकाले जलयात्रा सञ्चालन र दिगो विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
महाकाली नदीमा र्याफ्टिङको सम्भाव्यता परीक्षण विश्व पानी दिवसको अवसरमा नौ वर्षअघि नै गरिएको थियो। परशुराम धामदेखि भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीसम्म दुई पटक परीक्षण गरिएको थियो। “त्यतिबेला सम्भाव्यता मात्रै थियो, अब भने व्यवसायिक सुरुवात भएको छ,” नगरप्रमुख जोशीले भने।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को सहयोगमा जलयात्राका लागि आवश्यक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन भइरहेको उनले जानकारी दिए।
महाकाली नदीमा व्यवसायिक जलयात्रा सञ्चालनले नदी तटीय क्षेत्रको रोजगारी सिर्जना, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थानहरूको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। नगरप्रमुख जोशीले कञ्चनपुरदेखि दार्चुलासम्मका क्षेत्रहरूमा पूर्वाधार निर्माण गरी जलयात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना रहेको बताए।
महाकाली नदीमा व्यवसायिक र्याफ्टिङको सुरुवातसँगै सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएको छ। यो कदमले स्थानीय समुदायलाई आर्थिक लाभ मात्र होइन, क्षेत्रीय पहिचान र पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान दिने विश्वास गरिएको छ।
फोटोः फाईल तस्विर