बझाङ- बझाङमा आमाको मृत्यु भएको दुई दिन छोरीको पनि ज्यान गएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि कैलालीको धनगढीमा रहेकी उनकी छोरी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् ।
रोहिणी आमाको पार्थिव शरीर देख्नेबित्तिकै बेहोस भएकी थिइन् । बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गराइएकोमा रोहिणी केही समय होसमा आएकी थिइन् । फेरि बेहाेस भएकी उनको सोमबार दिउँसो जिल्ला अस्पताल चैनपुर पुर्याउनेबित्तिकै मृत्यु भएको हो । बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुर लगे पनि अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा थियाे ।
सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ ।
१५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमतीको मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई समेत गुमाउँदा भावविह्वल बनेका छन् ।