कञ्चनपुरबाट रुस पुगेका दुई युवकको युद्धमा मृत्यु

कञ्चनपुर-  एक वर्ष युद्ध लड्ने भन्दै कञ्चनपुरबाट रुस पुगेका दुई युवकको युक्रेनसँगको लडाईमा मृत्यु भएको छ । सँगै गएका अर्का युवक घाइते छन् । जनही पाँच लाख खर्चेर गतवर्ष तिहारपछि रुस पुगेका कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्ट, उनका भाई निराजन बिष्ट र लोकेन्द्र बहादुर युक्रेनसंगको लडाईमा सामेल भएका थिए ।

४५ वर्षीय बिराजनको मृत्यु भएको ८ महिनापछि लोकेन्द्रको मृत्यु भएको भएको हो । युक्रेनको तोकमोकमा बंकरभित्र ड्रोन आक्रमणमा परी दाई बिराजनको मृत्यु हुदा घाईते भएका भाई निराजन रुसमै उपचाररत छन् । बिराजनको गत बैशाख ५ गते मृत्यु भएको पुष्टि भएको थियो । सोमवार परराष्ट्र मन्त्रालयले रुसका तर्फ लडिरहेका लोकेन्द्र सहित थप १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

लोकेन्द्र रुसको नियन्त्रणमा रहेको युक्रेनको जैपसोरिजिया क्षेत्रमा मारिएका हुन् ।कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरकी कमलादेवी विष्टलाई रुसी सेनामा भर्ती भएका छोरा लोकेन्द्रले गत असारमा ऋण तिरिसकेकोले चिन्ता नलिन आश्वस्त पार्दै फर्केर घर बनाउने बाचा गरेका थिए । त्यसयता सम्पर्क बिहीन भएका लोकेन्द्रको मृत्युको खवर आएपछि सुन्दरपुरस्थित घर शोकमा डुबेको छ ।

घरमा रुवावासी चलेको छ । मस्कोस्थित नेपाली दूतावासले पुस ८ सम्म परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार हालसम्म रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ । मन्त्रालयले मोरङका जीवन राई, कञ्चनपुरका विराजन र लोकेन्द्रबहादुर, रोल्पाका गणेशसिंह पुन, स्याङ्जाका गणेश श्रेष्ठ, उदयपुरका ओमबहादुर मगर, जीवन लिम्बू, मोहन तामाङ र ध्रुव घर्तीमगर तथा चितवनका रञ्जित गुरुङको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

पति विराजनको अन्तिम संस्कार र क्षतिपूर्तिका लागि बिराजनकी पत्नी चाँदनी भोलि (बुधबार )दिल्लीबाट रुसको राजधानी मस्को जादैछिन् । उनले क्षतिपूर्ति नपाएसम्म मस्कोमै रहने बताएकी छन् । त्यहाँ रहदा घाईते देवरलाई समेत भेट्ने उनको योजना छ । करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ ।

त्यसमध्ये एक वर्ष करारपत्र रद्द गरेर १ सय ६२ जना नेपाल आइसकेको तथ्यांक नेपाली दूतावाससँग छ । नेपाल सरकारको पहलपछि रुसले गत मेबाट नेपालीलाई भर्ना लिन छाडेको परराष्ट्रको दाबी छ ।

You might also like