डडेल्धुरा – सोमबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात सुरु भएको छ । यो हिउँदमा भएको यो दोस्रो हिमपात हो । बझाङ, बाजुराका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको छ । यसअघि मंसिर अन्तिम साता पनि यहाँ हिमपात भएको थियो ।
बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । मंगलबार पनि हिमपात हुने क्रम जारी छ ।
बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । जाडोका कारण बाहिर हिँडडुल गर्न र नियमित काम गर्न पनि असहज भइरहेको छ ।