दार्चुला- दार्चुलाको तुसारपानी–टिंकर सडक निर्माण गरिरहेको नेपाली सेनाले अहिलेसम्म १३ दशमलव ५९ किलोमिटर ट्र्याक खुलाएको छ । दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्र्याक खोल्नुपर्ने ७९ किलोमिटर छ । २०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालेको सेनाले अहिलेसम्म १३ दशमलव ५९ किलोमिटर मात्र ट्र्याक खुलाएको हो ।
सो आयोजना अघि बढाउन चालु आर्थिक वर्षका लागि सरकारले ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट १ दशमलव ८ किमि नयाँ ट्र्याक खोल्ने र १ दशमलव २ किमि सडक स्तरोन्नति गर्ने लक्ष्य रहेको सैनिक प्रवक्ता एवं सहायकरथी गौरवकुमार केसीले बताए ।
कञ्चनपुरको व्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म कुल ४२५ किलोमिटर छ । कठिन खण्डको काम सेनालाई दिइएको छ । सेनाले आर्थिक वर्ष २०८८/८९ भित्र ट्र्याक खोलिसक्नुपर्ने सम्झौता छ ।
सडक नबन्दा सदरमुकाम दार्चुलाबाट छाँगरू, टिंकर, कालापानीलगायत स्थान पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।