जिल्ला प्रशासन कार्यालय बैतडीमा जनशक्ति अभाव

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीमा जनशक्ति अभाव हुँदा नागरिकता जारी गर्न पनि समस्या हुन थालेको छ । प्रमुख जिल्ला अधिकारीबाहेक नागरिकता जारी गर्ने जनशक्ति नभएपछि कामकाज प्रभावित भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) पछि सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना अधिकृत, नायब सुब्बा र खरिदारको न्यूनतम जनशक्ति भएपछि प्रशासनमा हाल सीडीओ बाहेकका जनशक्तिको अभाव छ ।

बैतडीमै रहेको इलाका प्रशासन कार्यालय पुर्चौडी, हाटमा पनि कर्मचारी नहुँदा बैतडीका सीडीओले नै सो कार्यालय हेर्न गरेका छन।

जिल्ला प्रशासन कार्यालय बैतडीमा लामो समयदेखि सहायक प्रमुख जिल्ला अधिकारी छैनन् भने दुई जना शाखा अधिकृतको दरबन्दी पनि खाली छ । जिल्ला प्रशासन कार्यालयमा दुई जना र इलाका प्रशासन कार्यालय पुर्चौडी हाटमा एक जना गरी तीन जना अधिकृतको दरबन्दी खाली हुँदा समस्या भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

अर्ध न्यायिक निकायसमेत रहेको जिल्ला प्रशासन कार्यालयमा जनशक्ति नहुँदा बजार अनुगमन, सेवाग्राहीका गुनासो, सीमा अनुगमन जस्ता काम प्रभावित भएका छन् । नागरिकता बनाउन टाढाबाट आएका सेवाग्राहीलाई दुःख नदिई राति र साँझ गरेर भए पनि नागरिकता जारी गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

You might also like