डडेल्धुरा – डडेल्धुरा स्थित प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने ‘देहिजाँत’ यस वर्ष भोलि अथवा मंसिर १ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । आज कार्तिक ३० गते रतेडी र भोलि मंसिर १ गते शनिवारका दिन दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिए।
डडेल्धुरा सदरमुकामबाट करिब ५ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ मा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको क्षेत्र विकास समितिका अध्यक्ष साँकीले जानकारी दिए ।
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण अर्थात भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ुदेउरोु आएपछि दिउसेडी मेला सुरु हुने गर्दछ।
स्थानीय भाषामा देहीजातका नामले प्रसिद्ध यो मेलामा सुदूरपश्चिमका बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका साथै कर्णाली प्रदेश सहित छिमेकी भारतबाट समेत श्रद्धालुहरु दर्शन गर्न आउने गर्दछन।
मेलामा स्थानीय स्तरमा उत्पादित विभिन्न हस्तकलाका सामग्रीका साथै कृषि उपज फलफुल सहित विभिन्न परिकारको व्यापारसमेत हुने गरेको छ।
मेलामा पुजाआजा तथा दर्शनका लगि भोलि १ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,परराष्ट्रमन्त्री आरजु राणा देउवा समेत उपस्थित हुने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराले जनाएको छ।