काठमाडौँ- साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे सुरु हुनेछ ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो ।
त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।
यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।