रहस्यमय बन्दै बैतडीकी किशोरी बेपत्ता प्रकरण

बैतडी- बैतडीमा किशोरी बेपत्ता घटना रहस्यमय बन्दै गएको छ ।

गत असोज २५ गते बिहानदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता नलागेको हो।

उनी हराएको आज १३ दिन बितिसक्दा पनि कुनै संकेत नपाइएको हो ।

किशोरीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

आफन्तका घर, महाकाली किनार, भारत र नेपाल दुवैतर्फ खोजी गर्दा पनि अहिलेसम्म किशोरी फेला नपरेको उनले बताए ।

किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ। तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको पाएको छैन ।

गत असोज २५ गते बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी उनी घर फर्किनन् ।

महाकाली प्रहरी चौकीनजिकै किशोरीले पानी ल्याउन लगेका ‘ग्यालेन’ र डोरी भेटिएका थिए ।

छोरीको अवस्था थाहा नहुँदा परिवारलाई ठूलो चिन्तामा परेको छ ।

किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकीका प्रहरी हबलदार कृष्णराज जोशी नै पक्राउ परेका छन्। उनीबारे अनुसन्धान भइरहेको छ ।

किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटारी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

गत असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनी अहिले जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा छन् ।

किशोरी र प्रहरी हबलदारबीच ‘प्रेम सम्बन्ध’ रहेको कुरालाई बल पुर्‍याउने प्रमाण पनि भेटिएका छन् । हबलदार जोशीको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका हुन् ।

पानीपँधेरो एउटै ठाउँमा गर्ने र चौकीनजिकै घर हुँदा चिनजान भएको हबलदार जोशीले प्रहरीसमक्ष बताएका छन् ।

तर किशोरी बेपत्ताबारे आफूलाई केही थाहा नभएको जिकिर उनले गरिरहेका छन् ।

प्रहरीलाई नै किशोरी बेपत्ताको आरोप लागेपछि महाकाली प्रहरी चौकीका प्रहरी जिल्लामा तानिएका छन् ।

महाकाली प्रहरी चौकीमा अहिले सई सुरतबहादुर साउँदको नेतृत्वमा नयाँ टोली छ ।

You might also like