डडेल्धुरा -नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकहरुको निःशुल्क उपचार बिमा गराईनु पर्ने माग राखेको छ । श्रमिकको सामान्य उपचारका लागी पनि चंदा संकलन गर्नुपर्ने बाध्यता रहेकाले एक लाख सम्मको उपचार बिमाका लागी वडाले वा स्थानीय तहहरुले दायित्व लिनुपर्ने नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारीले बताए ।
मंगलबार नेपाली कांग्रेस डडेल्धुराको पार्टि कार्यालयमा आयोजना गरिएको तिहार तथा छठ पर्व २०८१ को शुभकामना आदान प्रदान एवं जिल्ला परिषदमा श्रमिकको उपचार बिमाका लागि सबैले पहल कदमी चाल्न आवश्यक रहेको स्विकारेका थिए ।

गरिव, निमुखा एवं पछि परेका वर्ग समुदायका नागरिकहरुले बढी जोखिमयुक्त काम गर्दै आईरहेका हुन्छन । उनले भने, उनीहरुले पाउने ज्याला पनि कम हुन्छ । सामान्य चोट पटक तथा विभिन्न रोगको संक्रमण पनि उहाँहरु नै बढी पर्दछन । गरिब समुदायसंग उपचार गर्न पैसाको अभाव हुन्छ । सामान्य बिरामी वा चोट पटक लाग्दा चंदा संकलन गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । यस कारण उहाँहरुको एक लाख रुपैयाँसम्मको उपचार बिमा गरिदिए सबैलाई सहज हुने देखिन्छ । यसका लागि वडा वा स्थानीय सरकारहरुले दायित्व बहन गरिदिनु पर्छ वा रोजगार दाताले उपचार बिमा वाफतको रकम भुक्तानी गरिदिनु पर्ने उनको भनाई छ ।

एक लाख रुपैयाँ सम्मको उपचार बिमा गर्दा करिब ८०० रुपैयाँसम्म मात्रै रकम भुक्तानी गर्नु पर्ने भएकाले सानो रकमले गरिव श्रमिकलाई ठूलो राहत पुग्ने उनले बताए । ट्रेड युनियन काँग्रेस डडेल्धुराले पुस्तकालय स्थापनाका लागि पनि पहल गरिरहेकाले सहयोग गर्न उनले सबैलाई आग्रहसमेत गरे ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस डडेल्धुराका उपसभापती एवं नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मिप्रसाद अवस्थीले समाज रुपान्तरणका लागि सबैले एक ढिक्का भएर लाग्नु पर्ने बताए । राजनीतिले देशको असल रेखा कोर्ने भएकाले संगठन भित्र ईमान्दारीका साथ काम गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो । पद, प्रतिष्ठा, सेवासुबिधा केही समयका लागि भए पनि असल बिचार र व्यवहारले समाजसंगै देश विकास र रुपान्तरण गर्ने भएकाले संगठनहरुमा पनि एक ढिक्का भएर लाग्नु पर्ने उनले बताए ।
