शिवशिखरको बचत अपचलन गर्ने संगीता सहकारी बोर्डमा

रकम फिर्ता हुने झिनो आशा पनि मरेको बचतकर्ताको दुखेसो

डडेल्धुरा–शिवशिखर बहुउदेश्यीय सहकारी संस्थामा बचत रकम अपचलनमा संलग्न संगीता तामाङलाई सरकारले सहकारी विकास बोर्डको सदस्यमा नियुक्त गरेसँगै यँहाका बचतकर्ताहरु रकम फिर्ता नपाउने चिन्ताले अत्तालिएका छन ।

डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका नागरिकहरुले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरेको बचत रकम फिर्ता पाउने आशा मर्न थालेको बताएका छन । पाँच वर्षमा दोब्बर रकम भुक्तानी दिने सर्तमा यहाँका सर्वसधारणहरूले सो सहकारी संस्थामा नियमित रुपमा बचत गरिरहेका थिए ।


डडेल्धुराबाट मात्रै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ४२ करोड भन्दा बढि निक्षेप संकलन गरेर बचत रकम अपचलन गरेको प्रहरीको अनुमान छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै एक हजार पाँच सय ४३ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गराएका छन ।
कतिपय बचतकर्ताले रकमको स्रोत खुलाउन नसक्ने अबस्थाका कारण प्रहरीमा उजुरी नदिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र शिवशिखर बहुउद्देश्यीय सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएका बेला सरकारले सहकारी विकास बोर्डको सदस्य नियुक्त गरेको हो ।


राजनीतिक पहुँचका आधारमा संगीता बोर्ड सदस्यमा नियुक्त भएसँगै बचत रकम डुब्ने जोखिम बढेकोले डडेल्धुराका बचतकर्ताहरु चिन्तित छन । संगीतालाई प्रराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सिफारिसमा नियुक्त गरिएको बिभिन्न सञ्चारमाध्यमहरुले दाबी गरेका छन । सहकारीको रकम ठगीमा संलग्न ब्यक्तिलाई सहकारी विकास बोर्डको सदस्यमा नियुक्त गर्न नहुने सत्ता साझेदार नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्रबहादुर शाहीले बताए ।

‘मैले समाचार पढन पाएको छैन,’ पार्टीको कार्यक्रममा धनगढीमा रहेका शाहीले टेलिफोन कुराकानीमा भने, ‘जसको सिफारिसमा नियुक्त भए पनि सहकारी ठगीमा संलग्न ब्यक्ति बोर्डमा नियुक्त हुनु दुर्भाग्य हो ।’ यस विषयमा बुझेर थप प्रतिक्रिया दिने उनले बताए । सहकारी ठगीमा संलग्न ब्यक्तिहरुलाई राजनीतिक दलले संरक्षण गर्न नहुने अध्यक्ष शाहीको भनाई छ ।

विगतमा स्थानीय राजनीतिक दल र भातृ संगठनका नेताहरुले सहकारीमा डुबेको बचत रकम फिर्ता गराउन पहल गर्ने भन्दै बचतकर्ताहरुलाई आश्वस्त पार्दै आएका थिए । बचतकर्ताहरुको रकम फिर्ता गर्न विद्यार्थी संगठनहरुले आन्दोलन समेत गरेका थिए । हाल बचत रकम दुरुपयोग गर्ने ब्यक्तिलाई उच्च राजनीतिक संरक्षण भएका देखिन थालेपछि फिर्ता पाउने झिनो आशा पनि मरेको बचतकर्ताको दुखेसो छ ।

You might also like
Leave A Reply

Your email address will not be published.