काठमाडौं- सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी गराएका हुन् ।
उनले कार्यालयको खाजा समयबारेको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न पनि अनुरोध गरेका छन् ।
यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा लामोसमय सम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।
ओलीले सामाजिक सञ्जालमा लेखेको छन्, ‘ सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’