महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन् ।
मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए । ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने, ‘धनगढीदेखि सीधै तिंकरसम्म हेलिकप्टर लिफ्ट गराउनुपर्ने हुन्छ ।’
मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने बताए । ‘मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु,’ उनले भने, ‘भारतसँगको बेलिया, चीनसँगको तिंकर र मस्ताङ पोरलाका छिट्टै नाका खोल्छौँ ।’
मन्त्री लेखकले एक सय दिनमा गर्ने कामअन्तर्गत आफूले तिंकर नाकासहित तीन स्थानमा अध्यागमन कार्यालय खोलेर पर्यटक भित्र्याउने योजना राखेको बताए । मन्त्री लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाकै रूपमा विकास गर्नका लागि दोधाराचाँदनीमा छिट्टै सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढ्नेसमेत बताए ।
‘अब रुख हटाउने काम मात्रै बाँकी छ,’ मन्त्री लेखकले भने, ‘रुख हटाएसँगै काम अघि बढ्छ, तीन भित्रभित्रै सुक्का बन्दरगाह निर्माण गर्न सके देशकै महत्त्वपूर्ण नाकाको रूपमा अघि बढ्छ । ’
मन्त्री लेखकले आर्थिक वृद्धि विकासका लागि छोटी भन्सार पुनर्स्थापना गरिनेसमेत बताएका छन् ।