टुँडिखेलको गौरापर्वमा प्रधानमन्त्री ओलीबिरुद्ध नाराबाजी

काठमाडौं–सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ ।


गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन कांग्रेस सभापति शेरबहादुर देउवासँगै पुगेका प्रधानमन्त्री ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो । ‘केपी तेरो पाराले, दुःख पाए साराले, केपी चोर, देश छोड’ जस्ता अमर्यादित नाराबाजी युवाहरूले गरेका हुन ।

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरेका थिए । तर अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे । ‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ’, उनले भने ।


उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्री देउवा विशेष अतिथिका रुपमा पुगेका थिए । गौरापर्वको सन्दर्भमा अतिथि बन्न पुगेका ओलीविरुद्ध दर्शकदीर्घाबाट स्वागतको सट्टा अपमानको वर्षा भएपछि आयोजकले पनि चित्त दुखाएका छन ।

नाराबाजीपछि कांग्रेस सभापति देउवा आक्रोशित भएका छन । नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस । जति कराउने हो, कराउनुस् ।’ कार्यक्रममा उपस्थित भएकाहरुलाई देउवाले लाज छैन भन्दै जंगिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन रु यही हो सिकेर आएको रु’ गौरापर्व खेल्न र हेर्न आएकाहरुलाई कार्यक्रम बिथोल्नेहरुले असर पारेको उनले बताए ।

नाराबाजी गर्नेहरुसँग जंगिएपछि देउवा औपचारिक सम्बोधन सुरु गरेका थिए । सुदूरपश्चिम र कर्णालीको संस्कृति गौरापर्व भएको देउवाले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.