‘कविता भट्ट जिताउ अभियान’मा डडेल्धुरा भलिबल संघ
डडेल्धुरा-डडेल्धुरा भलिबल संघले ‘कविता भट्ट जिताउ अभियान’ सुरु गरेको छ। पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबलकी राष्ट्रिय खेलाडी भट्टलाई जिताउन अभियान सञ्चालन गरिएको संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिए ।
‘डडेल्धुराको छोरी राष्ट्रिय महिला भलिबल खेलाडी कविता भट्टलाई पल्स स्पोर्टस अवार्डमा जिताउनका लागि तपाईं हामी सबैको सहयोग आवश्यक रहेको छ,’ ठगुन्नाले भने, ‘तपाईंको सानो सहयोगले कबिता भट्ट जिताउन ठूलो सहयोग पुग्ने छ । डडेल्धुरा भलिबल संघले कविता भट्ट जिताउ अभियान संचालन गरेको छ । डडेल्धुरा लगायत सुदूरपश्चिमका सम्पूर्ण भलिबल प्रेमिहरुलाई सहयोग गरिदन हुन हार्दिक अपिल गर्दछौं ।’ भट्टको घर डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भात्काडा हो ।
विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्ने राष्ट्रिय खेलाडी भट्ट नेपालले हालै त्रिपुरेश्वरमा सम्पन्न काभा महिला नेसन्स लिगमा दोस्रो स्थान हासिल गर्दा टिमकी महत्वपूर्ण सदस्य थिइन् । अघिल्लो वर्ष यही प्रतियोगितामा कांस्य पदक जित्दा पनि टिममा रहेकी उनले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।