डडेल्धुरा मेडिकल कलेजमा पब्लिक हेल्थ र बिएस्सी नर्सिङ पढाउने तयारी

डडेल्धुरा-डडेल्धुरा मेडिकल कलेजमा पब्लिक हेल्थ र बिएस्सी नर्सिङ पढाउने तयारी भएको छ । गत वर्षदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन सुरु गरिएको डडेल्धुरा सदरमुकामस्थित मेडिकल कलेजमा यस वर्षदेखि पब्लिक हेल्थ र बिएस्सी नर्सिङ विषयको पढाई सुरु गर्न प्रक्रिया अघि बढाइएको छ ।


सुुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन डा. हेमनाथ जोशीका अनुसार चालु शैक्षिक सत्रदेखि पब्लिक हेल्थ र बिएस्सी नर्सिङ विषयको अध्यापन गर्न अनुमति माग गरिएको छ । ‘चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन पनि गरिसकेको छ,’ उनले भने, ‘अध्यापन अनुमति पाएमा हामी पब्लिक हेल्थ र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्न तयार छौं ।’
सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि ०८० साल असोजमा चिकित्सा शिक्षा आयोगले पहिलोपटक कक्षा सञ्चालनको स्वीकृति दिएको थियो । डिन डा. जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत गतवर्ष पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।
‘ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ उनले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि अनुमति पाइएको थियो ।


डडेल्धुरा मेडिकल कलेजकाअनुसार एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति आवश्यक छ । हाल डडेल्धुरा अस्पताल एक सय शैयाको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ । डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शैयामा सञ्चालन भएको तीन वर्षपछि मात्रै एमबीबीएस पढाउन अध्यापन अनुमति प्राप्त हुनेछ ।

You might also like