काठमाडौं
सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मी र काठमाडौं महानगरपालिका २३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका संचालक भारत पश्चिम बंगाल राज्य मोदिनिपुर घाटल थाना कुशपता ग्राम घर भएका ५२ वर्षीय चित्र रञ्जन हजारा रहेका छन् ।
काठमाडौं महानगरपालिका २२ न्यूरोडस्थित नारायण ज्वेलर्सबाट करिब ५२ वर्षीया अपरिचित महिलाले शुक्रबार दिउँसो सुनका गहना खरिद गर्ने भनी २ तोला २० लालको सुनको सिक्री लिई फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न लिनालाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा लिनाले चोरी गरेको सुनका गरगहना काठमाडौं न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
लिनाले यस अघि चोरीका करिब १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ भने प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।