सुदूरपश्चिमका यी स्थानीय तहमा उपनिर्वाचन हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेका थिए ।

गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएकाे छ ।  स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ ।

आयोगका अनुसार सुदूरपश्चिम प्रदेशको बाजुरास्थित स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को वडाअध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका– ८ को वडाध्यक्ष र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ ।

 

You might also like