सुदूरपश्‍चिमका मुख्यमन्त्री साेडारीले शुक्रबार विश्वासको मत लिने

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर शुक्रबार विश्वासको मत लिने भन्दै बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्रीकाे आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका छन् ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले सभामुखले शुक्रबार दिनकाे ४ बजे बस्नेगरि बैठक बाेलाएकाे जानकारी दिए ।

राजनीतिक समीकरण फेरिएर एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री साेडारीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासकाे मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेका कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेहुन्छ ।

एमाले र कांग्रेसकाे गठबन्धन बनेपछि साेडारी स्पष्ट अल्पमतमा परेका छन् । साेडारीलाई अहिले नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिकाे रञ्जिता पक्षका एक जना गरेर १५ जनाकाे मात्र समर्थन छ । जबकी ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाकाे समर्थन आवश्यक पर्छ ।

कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १/१ गरेर ३७ जना प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री साेडारीले प्रदेश सभाकाे विशेष अधिवेशनमा सहभागी भएकाे भन्दै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई कारवाही गरेका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका साेडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा साउन १ देखि सुदूरपश्चिम बजेट शून्यमा गएकाे छ ।

You might also like