सुदूरपश्चिममा ६२० जनालाई स्क्रब टाइफस, सबैभन्दा बढी डडेल्धुरामा

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा ६२० जनालाई स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

अहिले स्क्रब टाइफसको सङ्क्रमण बढी हुने सिजन नै रहेकाले धेरै जना यो रोगबाट ग्रसित भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए ।

मुसामा रहने किर्नाको टोकाइबाट मानिसमा यो रोग देखा परेको हो । मान्छेहरू खेत, झाडीमा काम गर्न जाँदा यो रोग सार्ने किर्नाले टोक्ने गरेको जनाइएको छ । यसैगरी, जङ्गलमा गएको बेला किर्नाले टोक्ने सम्भावना अझ बढी हुने गरेको बताइएको छ ।

निर्देशनालयका अनुसार जनवरीदेखि हालसम्म स्क्रब टाइफसका सबैभन्दा बढी बिरामी २१५ जना डडेल्धुरामा फेला परेका छन् । यसैगरी, अछाममा ११८, बैतडीमा ८३, दार्चुलामा ६०, डोटीमा४९ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै, कैलालीमा ४९, बाजुरामा २२, बझाङमा १७ र कञ्चनपुरमा १२ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन् ।

जङ्गली मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस मान्छेलाई लाग्ने गरेको जनाइएको छ । जोशीका अनुसार मुसालाई टोकेर किर्नाले स्क्रब टाइफसको ब्याक्टेरिया लिने गर्दछन् । त्यस्तो किर्नाले मान्छेलाई टोकेर ब्याक्टेरिया मान्छेमा सारेपछि स्क्रट टाइफस रोग लाग्ने गर्दछ ।

स्क्रब टाइफस रोग लागेमा समयमा रोग निदानका लागि उपचार नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । तर, समयमै उपचार गरेमा ५ देखि ७ दिनमा बिरामी निको हुने गरेको जोशीले बताए । स्क्रब टाइफसबाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको बताइएको छ ।

मानिसलाई स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण देखिने गरेको जनाइएको छ ।

You might also like