जागीर छाडी तरकारी खेती

करिव ७ वर्षसम्म विभिन्न ठाँउ का किसानहरूलाई खेतीपाती सिकाएका डडेल्धुराका सन्तोष आफै खेतीपातीमा होमिएका छन् ।
डडेल्धुरा सदरमुकाम सँगै जोडिएको अमरगढी नगरपालिका वडा नं. २ मौरडाका २७ वर्षीय सन्तोष जोशीले राष्ट्रिय स्तरको गैरसरकारी संस्थाको राम्रै जागीर लाई बिट मार्दै आफ्नै गाउँमा व्यवसायिक तरकारी खेती सुरु गरेका छन् ।
कृषि विषय अध्ययन गरेका जोशीले कृषि प्राविधिकको रुपमा विभिन्न जिल्लामा काम गरे । गैरसरकारी सङ्घ
संस्थामा काम गर्ने क्रममा सुदूरपश्चिमका विभिन्न जिल्लामा गएर समुदाय स्तरमा व्यवसायीक खेतीपाती सिकाएका जोशी अहिले आफ्नै बारीमा सन्तोषको श्वास फेरिरहेका भेटिन्छन् ।


विभिन्न सङ्घसंस्थामा काम गर्ने क्रममा विभिन्न विषयमा तालिममा सहभागी भएका जोशी भन्छन् “ति तालिमहरूले प्राविधिक रुपमा थप बलियो बनाएको छ ।” ७ वर्षसम्म विभिन्न ठाँउमा काम गर्दाका अनुभवहरूले आफूलाई व्यवसयीक तरकारी खेतीमा लाग्न हौसाएको बताउँछन् ।
स्वदेशमा रोजगारी छैन भनेर थोरै पैसाका लागी खाडी मुलुकको गर्मी खान पुग्ने र दोश्रो दर्जाको नागरिकको रुपमा काम गर्न भारतीय शहरहरूमा भौतारिरहेका युवाहरूका लागी सन्तोष प्रेरणादायी पात्र हुन सक्छन् । उनी हालै मात्र राम्रै सेवा सुविधा प्राप्त गरिरहेको राष्ट्रिय स्तरको गैरसरकारी संस्थाको जागिर छोडेर व्यवसायीक तरकारी खेती तर्फ लागेका हुन ।


जागीरको अवधीमा किसानहरूलाई तरकारी लगाउने मात्र होइन तरकारीको स्याहार कसरी गर्ने? रोगकीराबाट कसरी बचाउने? तरकारीको मूल्यश्रृखला अभिवृद्धि भनेको के हो ? कसरी गर्न सकिन्छ ? जलवायु परिवर्तनले कृषिमा कसरी असर गरिरहेको छ? जलवायु मैत्री कृषि कसरी गर्ने? भन्ने विषयमा सिकाएका सन्तोष ती सबै ज्ञान र शिपहरु आफ्नै खेत बारीमा प्रयोग गरिरहेका छन् ।
सहज छैन तरकारी खेती
आफू लगायत पाँचजना अन्य साथीहरूसँग अमरगढी नगरपालिका वडा नं. २ को मौरडामा साझेदारीमा कृषि कर्म सुरु गरेका सन्तोष जोशीको टिमलाई प्रकृतिले ठूलै धक्का दियो ।
मौरडामा रहेको करिव आठ रोपनी जमिनमा कसैले व्यावसायिक तरकारी खेती गरेर विभिन्न कारण देखाई छोडे पछि व्यावसायिक सपना देखेर कृषि गरेका उनीहरूको तरकारी फर्ममा भित्राउनको लागी ठिक्क परेको काउली र बन्दालाई असिनाले सखाप पारेपछि उनलाई केही हद सम्म असहज भयो ।


प्राकृतिक विपत्तिको कारण पर्न सक्ने असरबाट बच्नका लागी नसोचेका होइनन् तर बालीबिमाको लागी कैयौँपटक प्रयास गर्दा पनि बिमा कम्पनीको प्रतिनिधिहरू फर्मसम्म नआइदिँदा बालीबिमाको बारेमा बुझेर पनि क्षति ब्यहोर्नु परेको उनले गुनासो गरे ।
यस वर्षको आलुखेतीले पनी उनिहरुलाई धोका दियो । फर्ममा यो वर्ष करिव ४ कुईन्टल आलुको बीउ लगाइएको थियो तर बीउ पनि फर्किएन । यो वर्ष उनिहरुकोमात्र होइन डडेल्धुराका अधिकांश किसानहरूको बीउ फर्किएको छैन ।
नयाँनयाँ रोगकीरा तरकारी खेतीका लागि चुनौती
जागिरका क्रममा सन्तोषले धेरैलाई जलवायुसँग अनूकुलित हुने कृषि पद्धति तथा अभ्यासहरूका साथै रैथाने बालीहरूका प्रयोग तथा संरक्षण जस्ता विषयहरुमा सिकाए र सोही पद्धति अनुसार तरकारी खेती गर्ने दृढ संकल्पका साथ कृषिमा आएका उनलाई कृषि क्षेत्रमा देखिएका नयाँ नयाँ रोग किराहरूले थप चुनौती थपेको छ ।
प्राङ्गारिक मलको प्रयोग, जैविक विषादीको प्रयोग गरी प्राङ्गारिक तरकारी उत्पादन गर्ने योजना बमोजिम उनले आफ्नो फार्ममा गाईवस्तुको पिसाव सङ्कलन गर्नुका साथै झोलमल समेत तयार गरेका छन् । तर पछिल्लो समय आएका नयाँ नयाँ प्रजातीका रोग तथा किराहरुलाई प्राङ्गारिक मल तथा बिषादीहरुले समेत नियन्त्रण गर्न नसकिएको सन्तोष बताँउछन ।


कृषि अनुदान राम्रालाई भन्दा हाम्रालाई
कृषि फर्मलाई व्यवसायिक रुपमा सञ्चालन गर्न ६ जना युवाहरुले करिव २० लाख रुपैँया जति लगानी गरिसकेपछि सरकारी तथा गैरसरकारी निकायबाट पनि सहयोग हुने अपेक्षा राखेका छन् ।
ठुलो मात्रामा गरिन थालिएको व्यवसायिक तरकारी खेती हेर्दा सहज देखिए पनि सबै कुरा किन्नु पर्ने भएकाले थप लगानीको आवश्यकता रहेको सन्तोष बताँउछन । यस वर्ष उनको फार्मले सरकारी निकायबाट सामान्य अनुदान प्राप्त गर्न सफल भएको छ ।
सन्तोषहरुलाई मात्र होइन प्रायः सबैलाई लाग्ने एउटै कुरा छ, त्यो हो कृषि तथा पशुपालनको अनुदान राम्रालाई भन्दा हाम्रालाई ।
सहुलियत दरमा पाउदैनन् ऋण
नेपाल सरकारले युवाहरुलाई लक्षित गरी सहुलियत दरमा ऋण उपलब्ध गराउने भनेर कार्यविधि नै तयार गरेको भए पनि स्वरोजगार श्रृजना गर्ने युवाहरुको पहुँच त्यस्ता सहुलियत दरको ऋणसम्म पुग्न सकेको छैन ।
नेपाल सरकार द्वारा २०७५ मा तयार गरिएको “सहुलियतपूर्ण कर्जाको लागी व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि” तथा नेपाल राष्ट्र बैँकका अनुसार यस्तो प्रकारको कृषि ऋण लिनको लागी थप कुनै धितो राख्न आवश्यक छैन । किसानहरुले कृषि ऋण लिएर जुन कृषि व्यवसाय गर्न खोजेको हो त्यही फर्म नै स्वतः धितो हुने प्रावधान राखेको छ । तर प्रावधानमा जे जस्तो उल्लेख भए पनि धितो राख्दा समेत बैँकले नपत्याएको सन्तोषको गुनासो रहेको छ । उनले जेनतेन विभिन्न सहकारी तथा वित्तिय संस्थाहरुबाट श्रीमती तथा आमाको नाममा चर्काे व्याजदरमा ऋण लिएर कृषि फर्मलाई धानिरहेका छन् ।


हाम्रो पहाडी जिल्लामा करिव करिव एक चौथाई भन्दा बेसी खेतीयोग्य जमिनहरु बाँझा रहेका छन् । हामीलाई आवश्यक पर्ने नुन तेल मात्र होइन अब त अन्न र तरकारीका लागी पनि अर्काको भर परिरहेका छौँ । युवाहरु दैनिक वैदेशिक रोजगारका लागि बाहिर रहेका छन् । स्वदेश मै अवसर र रोजगार श्रृजना गर्नका लागी सरकार द्वरा विभिन्न नीति तथा कार्यक्रमहरु घोषणा भइरहेका छन् ।सरकार स्वदेशमा रोजगार श्रृजना गर्नका लागी विभिन्न सहुलियत घोषणा गर्छ तर ती सहुलियत राम्रालाई होइन हाम्राको हातमा परिरहेको छ ।
कृषि क्षेत्रमा काम गरेको, कृषि विषय पढेका युवाहरुलाई व्यवस्थित रुपमा कृषि गर्ने अवसर श्रृजना गरिदिने हो भने लाखौँ हेक्टर बाँझो जमिनमा पुनः खेती भई लाखौँ अन्य बेरोजगारहरुलाई स्वदेशमै रोजगारी दिन सकिन्थ्यो ।

You might also like