डडेल्धुरामा निःशुल्क औषधी आपुर्तिमा कठिनाई

राम धामी
डडेल्धुरा, २५ असार
सुदूरपश्चिम प्रदेशमा नियमित रुपमा औषधी खरिद गर्न अवरोध उत्पन्न भएपछि निःशुल्क औषधी आपुर्तीमा कठिनाई भइरहेको छ ।
औषधी तथा उपकरण खरिदमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेकाले चालु आर्थिक बर्षको लामो अवधिसम्म औषधी खरिद हुन नसकेको हो । समयमै औषधी खरिद गर्न नसकिदाँ निःशुल्क उपलब्ध गराईने औषधी आपुर्ति हुन नसकेको स्विास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । प्रदेश सरकारबाट आपुर्ति हुने औषधी खरिदमा ढिलासुस्ती भएकाले स्वास्थ्य संस्थाहरुमार्फत वितरण गरिने निःशुल्क औषधी आपुर्ति गर्न नसकिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साँउदले बताए ।

आर्थिक बर्ष शुरु भएको सात महिनापछि मात्रै औषधी खरिद गरिएको र सबै स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको साँउदले जानकारी दिए । स्थानीय तहबाट औषधी खरिद गरेर स्वास्थ्य संस्थाहरुमा आपुर्ति गरिए पनि सर्वसधारणको आवश्यकता भन्दा न्युन औषधी मात्रै खरिद हुने गरेको छ । स्वास्थ्य कार्यालय डडेल्धुराले मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा भएका कार्यप्रगति प्रस्तुत गरिएको छ ।
स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा जिल्लामा घरमै ९० जना सुत्केरी भएका छन । ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा अजयेमरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकाबाहेक चार स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकामा ४२ जना महिला घरमै सुत्केरी भएका छन ।

आलिताल गाउँपालिकामा ३५, भागेश्वर गाउँपालिकामा ११ र जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा दुई महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउँदले जानकारी दिए । जिल्लामा नवजात शिशु मृत्युको संख्या १३ जना रहेको छ । जसमा परशुराम नगरपालिकामा छ जना, अजयमेरु गाउँपालिकामा तीन जना, अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकामा दुई÷दुई जना रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म डडेल्धुरामा मातृ मृत्युको संख्या ४१ जना रहेको छ । जिल्लाका स्थानीय तहमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी अपुग रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लाका सातवटा स्थानीय तहमा स्वास्थ्य सेवामा मात्रै स्वीकृत दरबन्दी संख्या १ सय ५६ जना रहेको छ । जसमा १ सय ३० जना कार्यरत रहेका छन । जिल्लामा स्वीकृत दरबन्दीमध्ये २६ जनाको पदपूर्ति हुन सकेको छैन । दरबन्दी अनुसार स्वास्थ्यकर्मी अपुग भएपछि यहाँका स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा करारबाट कर्मचारी भर्ना गरेको जनाएका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लामा सञ्चालित मेडिकल तथा फार्मेसीहरूमा कडाइका साथ अनुगमन गर्नुपर्ने बताए । सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधि ग्रामीण क्षेत्रमा पर्याप्त उपलब्धता नरहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि ध्यान दिन स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराए । स्वास्थ्य कार्यालयका प्रमुख साउँदले आधारभूत स्वास्थ्य सुदृढीकरणमा आफूले जनशक्तिले भ्याएसम्म काम गरिरहेको बताए । उनले चालु आर्थिक वर्षमा कार्यालयले भौतिक तथा वित्तीय प्रगति ९० प्रतिशत बढी गरेका जानकारी दिए । आगामी दिनमा मेडिकल तथा फार्मेसीहरूको अनुगमनलाई तीव्रता दिइने प्रतिबद्धता जनाए

You might also like