नेपालमा कृषिका कुरा र समस्याहरूका बारेमा बेला बेला चर्चा हुने गरे पनि कृषिमा अहम् भूमिका खेल्ने महिलाको विषयहरू विरलै मात्र उठान भएको देख्न सकिन्छ ।
पछिल्लो समय घरायसी काममा मात्र होइन कृषिकर्ममा पनि महिलाहरूको श्रमको अत्यधिक उपयोग भइरहे पनि उनीहरूको श्रमको उचित मूल्यांकन भइरहेको देखिदैन ।
सामाजिक रुपमा पछाडि पारिएका महिला हरू माथिको कार्य बोझ विगतका वर्ष हरू देखिनै थियो यसमा कसैको दुईमत नै छैन तर पछिल्लो समय रोजगारी तथा अन्य काम र पेशाका लागी पुरुषहरू पलायन हुन थाले पछि खेतीपातीको सम्पूर्ण बोझ महिला हरूमा थपिएको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल ग्राहस्थ उत्पादनमा २० प्रतिशत कृषिको योगदान रहेको छ । नेपालको जम्मा ५६ लाख ४३ हजार ९४५ घरधुरी मध्ये करिव ४१ लाख घरपरिवार कृषिमा आधारित छन् भने कृषिमा आश्रित जनसंख्या ६५.६ प्रतिशत रहेको छ त्यसैगरी कृषिमा श्रम गर्ने मध्ये ७० प्रतिशत महिला रहेको विभिन्न तथ्याङ्कहरूले देखाउदछ ।
नेपालको मुख्य पेशा कृषि भनिए पनि अझै पनि ६० प्रतिशत जनसंख्या लाई उनीहरूको खेतीपातीको उत्पादनले खान पुगिरहेको छैन यो तथ्यांक हेर्ने हो भने त्यो ६० प्रतिशत जनसंख्या लाई पनि अरुले उत्पादन गरिदिनुपर्ने अवस्था छ ।
पछिल्लो समय पुरुषहरू गाउँ बाट सहर हुँदै शिक्षा, रोजगार र व्यवसायका लागी विदेशिने क्रम बढेको छ जसका कारण नेपालको कृषि क्षेत्रमा पुरुषहरूको संख्या घटीरहेको छ भने महिलाहरूको उपस्थिति र जिम्बेवारी दिन दिनै बढिरहेको छ ।
पहिले पहिले कृषि कर्मलाई अधिकांश पुरुषहरूले आफ्नो जिम्मामा लिने गर्दथे भने महिलाहरू घरायसी काममा व्यस्त रहने गर्दथे तर बदलिदो समय सँगै कृषिका अधिकांश कामहरू महिलाको मुण्टामा थोपरिन पुगेको छ ।
कृषिको आंशिक कामहरू सम्हाल्नु पर्ने महिलाको काँधमा बिउ खोज्ने, बेर्ना उमार्ने, बेर्ना लगाउने, मल खाद्यको जोहो गर्ने, खेताला जोहो गर्ने, बालीनाली उठाउने, भण्डारण गर्ने जस्ता सम्पूर्ण जिम्बेवारी पर्दा महिलामा कार्यबोझ बढेको छ ।
महिलामा थपिएको अत्यधिक कार्यबोझको कारण महिलामा मानसिक तथा शारीरिक समस्याहरू देखिन थालेको छ । व्यस्तताका कारण समाजका अन्य विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर बाट बञ्चित हुनु पर्दा सामाजिकीरणमा असर गरिरहेको छ । महिलाहरूमा सामाजिक, आर्थिक र राजनैतिक सशक्तीकरण हुन सकिरहेको छैन ।
“बिउ देखी बजार” सम्म खटिने महिलाहरू पितृसत्तात्मक सामाजिक संरचनाको कारण अझै पनि ससाना विषयमा निर्णय लिनु पर्दा परदेशमा रहेका वा घर भन्दा टाढा रहेका श्रीमान वा छोराहरू लाई सोध्नु पर्ने बाध्यतामा रहेका छन् ।
७० प्रतिशत महिला श्रम शक्ति रहेको कृषि क्षेत्रमा महिला मैत्री कृषि औजारको अभाव रहेको छ । पछिल्लो समय यान्त्रिकरणले गर्दा कृषिमा सहजता आए पनि महिला मैत्री कृषि औजार नभएका कारण महिला हरू लाई निल्नु न ओकल्नु भएको देख्न सकिन्छ ।
नेपाल सरकारका कतिपय नीति तथा कार्यक्रमहरू महिलामैत्री नभएका होइनन्, महिलाको नाममा लालपुर्जा बनाउँदा तिर्नुपर्ने करमा छुट, महिलाको नाममा कृषि फर्म दर्ता गर्दा पाउने छुट हरू र केही समय पहिले कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत स्थापना भएको महिला कृषक विकास महाशाखाको स्थापना यसका उदाहरणहरू हुन ।
यद्यपि अझै पनी महिला हरूको श्रोत माथि पहुँच र नियन्त्रण वृद्धि, निर्णायक भूमिका, भूमि माथिको अधिकार, महिला हरूको निर्णय गर्ने अधिकार का साथै तिनै तहका सरकारहरूले महिलामैत्री कृषि नीतिका साथै महिलामैत्री कृषि योजना तयार गर्न आवश्यक देखिन्छ ।