किसानको लागी नभै नहुने सिँचाई सुविधाका लागी पछिल्लो समय सस्तो र भरपर्दो प्रविधिको रुपमा सोइल सिमेन्ट पोखरीले किसानको मन जितिरहेको छ ।
जफवायु परिवर्तन र अन्य विविध कारण हरुले पानिको मुहानहरू सुक्दै जानु वा घट्दै गएका कारण किसानहरू मर्कामा परिरहेको बेला सोइल-सिमेन्ट प्रविधि बाट निर्माण गरिने सिँचाई पोखरीले किसान हरू लाई निकै राहत दिइरहेको छ ।
आज भन्दा ४ वर्ष पहिले प्रकाशनमा आएको एक तथ्यांकले नेपालमा २८ प्रतिसत जमिनमा नियमित रुपमा सिँचाई सुविधा उपलब्ध हुने गरेको देखाएको छ भने २५ प्रतिसत जमिनमा वर्षायाममा पानि परे पछी सिँचाई सुविधा उपलब्ध हुने गर्दछ । उक्त तथ्यांकमा ५६ प्रतिसत जमिनमा सिँचाई सुविधा पुग्न सकेको छैन । कछुवा गतिमा भइरहेको विकास र नेपाल सरकारको कृषिमा गरेको लगानी हेर्ने हो भने पछिल्लो ४ वर्षमा कति नै सिँचाई योजना निर्माण भए होलान र ? यो तथ्यांक लाई हेर्ने हो भने पनि नेपालका किसानहरूहरुले सिँचाइको बैकल्पिक उपाय अपनाउनु आवश्यक नै देखिन्छ ।
पहाडी क्षेत्रको लागी उपयुक्त प्रविधि
जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा सुक्खापन बढ्दै गएका कारण पछिल्लो समय पानीका मुहानहरु सुक्दै गइरहेका छन् । यसका साथै भौगोलिक बनावटका कारण प्राकृतिक विपत्तिका रुपमा आउने बाढी, पहिरोले बनेका सिँचाइका संरचनाहरूहरु पनि क्षतिग्रस्त बनाउने उच्च सम्भावना हुने हुँदा पहाडी क्षेत्रको लागी सोईल-सिमेन्ट प्रविधिको सिँचाई पोखरी उपयुक्त प्रविधि हुन सक्दछ ।
पहाडी क्षेत्रका अधिकांस किसानहरू आकासे पानीको भरमा खेतीपाती गर्ने र जलवायु परिवर्तनका कारण नियमित रुपमा वर्षा नहुदा किसानहरु मारमा परिरहेका छन् । पछिल्लो केही वर्ष यता समयमा वर्षा नहुने, लामो समय खडेरी हुने, वर्षा भई हाल्यो भने एकै पटक धेरै वर्षा हुने गरेकोछ ।
यसैले पनि लगानीको रुपमा सस्तो, निर्माण गर्न सहज तथा प्रयोग गर्न सहज भएका कारण र जलवायुमैत्री कृषि प्रविधिको रुपमा लिन सकिने हुदा यो प्रविधि पहाडी क्षेत्रको लागी उपयुक्त मानिन्छ ।
डडेल्धुराको हकमा केही सोइल-सिमेन्ट पोखरी हरू कृषि ज्ञान केन्द्रको तर्फ बाट निर्माण भए पनि यो आर्थिक वर्षमा साना सिँचाइको कार्यक्रमहरू नभएकोले ज्ञान केन्द्रको तर्फ बाट पोखरीहरू निर्माण नभए पनि अन्य विभिन्न निकायको तर्फ बाट निर्माण भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बताउनुभयो ।
डडेल्धुरामा बन्दैछ थुप्रै सोइल सिमेन्ट पोखरीहरू
पछिल्लो समय डडेल्धुराको अमरगढी नगरपालिका र छेउछाउमा सोइल सिमेन्टहरूहरु बनाउने क्रम बढीरहेको अमरगढी नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख रमेश भण्डारी बताउनुहुन्छ ।
डडेल्धुराको अमरगढी नगरपालिका र अन्तराष्ट्रिय विकासे साझेदार निकाय जि.आई.जेड.द्वारा संयुक्त रुपमा संञ्चालन भइरहेको जलवायु उत्थानशिल कृषि अभ्यास सम्बन्धि परियोजना अन्तर्गत अमरगढी नगरपालिकाको विभिन्न समुदायमा सोइल-सिमेन्ट पोखरी निर्माण गरिरहेको छ ।
जि.आई.जेड. ले आफ्नो परियोजना मार्फत निर्माण गर्न लागीरहेको कुल २० वटा सोईल सिमेन्ट पोखरी निर्माणको काम भर्खर सुरु गरेको छ भने अमरगढी नगरपालिकाको कृषि विकास शाखाले निर्माण गर्न लागेको १४ वटा सोइल सिमेन्ट पोखरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ यसै गरी डडेल्धुरामै कार्यरत गैर सरकारी संस्था बहुउदेश्यीय विकास समाजले पनि जिल्लाको दुई वटा पालिकामा १६ वटा पोखरी निर्माण गरेको छ ।
जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी निकायको तर्फ बाट पछिल्लो केही वर्ष यता सोइल-सिमेन्ट प्रविधि अपनाएर पोखरीहरू निर्माण गर्ने कार्य भएको भएता पनि करिव १५ वर्ष पहिले नै आई.डि.ई. नेपाल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले डडेल्धुराको विभिन्न समुदायमा सोइल-सिमेन्ट प्रविधि बाट पोखरी निर्माण गर्न सिकाएको डडेल्धुरामा लामो समय देखी कृषि प्राविधिकको रुपमा कार्यरत दिपकराज पाठक बताउनु हुन्छ ।
सोइल-सिमेन्ट पोखरीका फाइदाहरू
यस प्रविधि बाट निर्माण गरिने पोखरी लाई जलवायुमैत्री पोखरीको रुपमा पनि मान्न सकिन्छ । यस प्रविधि बाट निर्माण गरिएको पोखरीमा घरायसी काम गर्दा निस्किएका फोहर पानी, भाडा धोएर निस्किएको पानी, लुगा धोएर निस्किएको पानी, आकासे पानी , धारा बाट बढि भएर निस्किएको पानी संकलन गर्न सकिने हुदा एकातिर पानिको जोहो हुन्छ भने आर्को तिर फोहरको व्यवस्थापन पनि हुने गर्दछ ।
यसरी संकलन गरिएको पानीले करेसावारीमा सिँचाई गर्न सकिन्छ भने कतैकतै माछापालन गरेको पनि देख्न सकिन्छ । संकलन गरिएको पानीको उचित प्रयोग गर्न सके घर छेउमा फलफुल तथा घाँसको खेती पनि गर्न सकिन्छ । यसरी यस्ता पोखरीमा संकलन गरिएको पानीको प्रयोग गरी वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने देखिन्छ ।
न्यून लागत तर धेरै फाइदा
सोइल-सिमेन्ट प्रविधि बाट निर्माण गरिने पोखरीको लागत कंक्रिट प्रविधि बाट निर्माण गरिने पोखरी भन्दा निकै न्यून हुने प्राविधिकहरू बताउछन् । आयुको हिसावले प्लास्टिक पोखरीको आयु ५ वर्षको मानिन्छ भने सोइल-सिमेन्ट प्रविधि बाट बनाइएको पोखरीको आयु १० देखी १५ वर्ष सम्म हुने गर्दछ जवकी कक्रिट अर्थात सिमेन्ट प्रयोग गरि वनाएको पोखरीको सरदर आयु २० वर्षको हुने गर्दछ ।
सोइल-सिमेन्ट पोखरी निर्माण गर्दा पहिलो फाइदा भनेको यो बनाउदा कुनै दक्ष प्राविधिक चाहिदैन र निर्माण सामाग्री हरू स्थानिय स्तरमा नै भेटिने हुदा लागतको हिसावले पनि कंक्रिट सिमेन्टको प्रयोग गरि निर्माण गरिने पोखरीको तुलनामा तिन गुणा सस्तो पर्न जान्छ ।
सबैको प्राथमिकतामा पर्न आवश्यक छ
जलवायु परिवर्तनका कारण तथा अन्दाधुन्द विकास निर्माणका कारण पानिका मुहान हरू सुक्दै गइरहेको छ भने कतै कतै पानिका मुहानहरू भासिन थालेको कारण किसानहरू मारमा पर्न थालेका छन् । आधा भन्दा वढी खेतीयोग्य जमिनमा सिँचाई सुविधा नपुग्नु र सिँचाई सुविधा उपलब्ध गराउन तत्कालका लागी निकै ठुलो धनराशी खर्च हुने अवस्थामा स्थानिय सरकार तथा किसानहरूले सिँचाइको बैकल्पिक उपायको रूपमा सोइल सिमेन्ट अर्थात माटो र सिमेन्ट मिश्रीत सामाग्री बाट पोखरी निर्माण गर्ने कार्य लाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ ।