गंगा दशहरा

माता गंगाको विशेष पूजा गरिने दिन जेष्ठ शुक्ल दशमी, राजा भगीरथलेआफ्ना ६०००० सन्तानको मुक्तिका लागि गंगामाताको तपस्या गरेका थिए फलस्वरुप जेष्ठ शुक्ल दशमी तिथिका दिन माता गंगा, राजा भगीरथको तपस्या बाट प्रसन्न भइ पृथ्वीमा अवतरित भइ पाप मुक्त गरेको दिन अर्थात गंगा दशहरा ।

हिन्दु धर्मावलम्बीहरुले  परापुर्वकालदेखिनै मनाउदै आएको चाडपर्व गंगा दशहरामा विभिन्न धार्मिक स्थल तथा त्रिवेणिधाममा गई स्थान तथा पूजा अर्चना गर्नाले पाप नाशहुने किम्बदन्ती रहिआएको छ । गंगा दशहराका दिन नेपालका प्रसिद्ध खप्तड तथा गोसाँइकुण्ड जस्ता धार्मिकस्थलमा ठुलो मेला लाग्ने गर्दछ ।

नेपालका विभिन्न भु-भागमा फरक-फरक चाल-चलन भएझै गंगादशहरा पर्व पनि फरक-फरक समुदायमा फरकै ढंगले मनाउने प्रचलन रहेको छ । विशेष गरी सुदुरपश्चिमका पहाडी समुदायहरुमा न्वागी चढाउने,पुतली सेलाउने जस्ता सुन्दर चलनहरु समेत रहेका छन ।

गंगा दशहराको दिन बिहान आफ्ना गाँउको मन्दिरमा सवैको बेग्लै चूलो लगाएर पुरी (लाउन) पकाउन जान्छन र बर्षभरी गाँउमा शुभकार्य भएका परिवार वाट गुण पनी लैजाने गर्दछन । फाग गाउदै पकाएका लाउन र लगेका गुणको पहिलो भाग देउतालाई चढाएर गाँउभरी बाट गएका परिवारहरु एक आपसमा लाउन साटासाँट गर्छन । ती साटिएका पुरीहरु संगै प्रगाढ माया र खुसीहरुपनी साटिन्छन । खुसी साटासाट गर्ने शुभदिनगंगा दशहरा ।

बर्षभरीकामीठा-मीठा यादहरुलाइ पून: स्मरण गर्दै महिलाहरुका भलाकुशारी साँझै सम्म गाँउभरीका हावामा समेत गीत बनेर सुनिएझैँ लाग्छ ।

साँझपख केटाकेटीहरु खुवै रमाउने गर्छन,किनकी दशहराकादिन पूतला पूतली बनाइ विहेवारी गराइ न्वालोमा सेलाउने दिन पनी हो केटाकेटीहरुका लागि । ३-४ दिन अगाडी देखिनै दर्जीकोमा गई लुगा सिलाउँदा बाँकी रहेका कपडाका टुक्रा (काता)हरु ल्याइ पूतली (दुलाहा दुलही) बनाउने गर्दछन् । दुलाहा पूतला लाई दुलाहा सजाए जस्तै र दुलही पूतलीलाईश्रृङ्गार, फूल तथा नाना प्रकारले सजाउँछन। पुतली लाइ सेलाउन लैजानकोलागी मुसल(लुसी) र रातो पच्छ्यौरी (पिछाउणो) को डोलि बनाइ सजाउने गर्छन ।मीठामीठा खानेकुरा सहित नाच्दै, गाँउदै, रमाउदै गाउभरीका माइती आएका नवविवाहित दुलही र केटाकेटीहरु सवै मिलेर पूतला पूतलीको विहे गरिदिन्छन ।

गाँउबाट नजिकै रहेको न्वालोसम्म, उपलब्ध हुने बाजागाजा (मादल, थाल, जरकिन) सहित केटाहरुले पूतला पूतलीको डोली बोकेर लैजान्छन र अन्य सवै जन्ती भएर जान्छन । नाच्दै गाउदै सवैजन्ती न्वालोमा पुगेर केटीहरु पूतलीको पूजा गरी पूतलीलाइ खानेकुरा ख्वाइ (न्वालाको जल्खामा) पूतली सेलाउछन । पूतली सेलाइसकेपछी सवै मिलेर घरबाट लगेका खानेकुराहरु साटासाट गर्दै खानेगर्छन र घर फर्किन्छन ।

पहिले-पहिले सानै उमेरमा आफ्ना छोरीहरुको विहेवारी गरिदिने चलन थियो र तीनै स-साना दुलहीहरु माइती कम आउनपाउने भएर पुतली सेलाउने दिन अर्थात दशहरामा आएर आफ्ना भाइबहिनीहरु र संगिनीहरु संग मिलेर पूतली सेलाउने गर्दथे । कुनै कारणले आउन नपाउदा पुराना हृदयस्पर्शी भाकाहरु बाट मन बहलाउन आफ्नै भाषामा गीतहरु गाउने गर्दथिन ।

नलाग सर्कका पानी डाँङामा भलछुटि ।

सङनीकि साथ छुटि आमाकी कोख छुटि ।।

सल्लिकि ठाङरी माथी काँकणी बेलाउनी ।

मेरी रैगै मेरी आमा पुतली सेलाउनी ।।

 

अमरगढी-८, खुल्लेक डडेल्धुरा

You might also like