आलु नफल्दा किसान चिन्तित, बिमा बारे अनभिज्ञ किसान 

आलु पकेट क्षेत्रको रुपमा चिनिन थालेको डडेल्धुरामा यो वर्ष सोचे जस्तो आलु नफल्दा किसानहरू चिन्तित देखिएका छन् । 

डडेल्धुरामा व्यवसायिक कृषि गरिरहेका किसान तथा कृषि फर्महरूले आफै तथा कृषि ज्ञान केन्द्र , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा अन्य विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा केही वर्ष यता आलु खेतीको व्यापक विस्तार गरे पनि यो वर्ष किसानहरू लाई आलुखेतीले निराश बनाएको छ ।

 गत वर्ष डडेल्धुराको १४४० हेक्टरमा आलु खेती गरिएको थियो भने भने २७ हजार ६ सय चौरासी मेट्रिक टन उत्पादन गर्न सफल भएको थियो । गत वर्ष उत्पादन भएको आलु बिउका रुपमा सुदूरपश्चिमका सबै जिल्ला र तरकारीको रुपमा डोटी, कैलाली र कञ्चनपुर सम्म पुगेको थियो तर यो वर्ष लामो खडेरीका कारण अधिकांश किसानहरू लाई आलुको बिउ फर्काउन समेत हम्मे परेकोछ ।

 यो वर्ष आलु उत्पादनमा कति प्रतिशत ले कमी हुन्छ होला त ? आलु खन्ने काम भइरहेकोले कृषि ज्ञान केन्द्र डडेल्धुरा सँग पनि यकिन तथ्यांक आइसकेको छैन तर यो वर्ष खडेरीका कारण आलुको उत्पादन निकै घट्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरु बताउँछन ।

 धनगढी डडेल्धुरा भीमदत्त राजमार्ग नजिक मेलखर्क बस्तीका किसानहरू लाई यो वर्ष आलु खेतीले अलि वढी धोका दियो । यो बस्तीको मुख्य पेशा नै तरकारी खेती हो । तरकारी खेतीबाट भएको आम्दानीले यहाँका स्थानीयले गुजरा गर्दै आईरहेका छन । जङ्गल बिचको वस्ती भएपनि पर्याप्त पानीका मुहान नुहदा यहाँको जमिनमा सिँचाइको सुविधा छैन । आकाशे पानीको भरमा गरिने तरकारी खेतीले बेलाबखत निरास बनाउँछ । यस वर्ष हिउँदमा पर्याप्त वर्षा तथा हिमपात नहुदाँ आलुको उत्पादन ९० प्रतिशत भन्दा माथि नै घटेको अनुमान छ । फागुन महिनामा लगाइएको आलु नफल्दा किसान चिन्तित भएका छन ।

आलिताल गाउँपालिका–१ को मेलखर्क बस्तीमा हरिना देवी बोहराले आलुखेती गरेको एक दशक बढी भयो । आलुखेतीबाट हुने आम्दानीले नै उनले सबै घर खर्च चलाउँदै आइरहेकी छन । गत फागुन महिनामा उनले आफ्नो बारीमा आठ कुईन्टल आलुको बिउ लगाइन । अहिले आलु खन्दा बिउ पनि फिर्ता नहुने देखिएपछि अब के खाने ? भन्ने चिन्ता उनको छ ।

यसै बस्तीमा झण्डै दुई दशक देखि आलु लगाउदै आइरहेकी किसान डम्बरा देवी बोहराले गत फागुन महिनामा सात कुईन्टल आलुको बिउ लगाएकी थिइन । अहिले खन्ने बेला लगाएको बीउसमेत नफले पछि चिन्तित हुदै उनले भनिन्, अरु वर्ष सातआठ कुईन्टल बिउ राखेर दुई, ढाई लाखको बिक्री गथ्र्यौ । यो वर्ष आलु नै फलेन । किरालाई ठिक्क भयो । 

सिँचाइको व्यवस्था नभएको यस क्षेत्रमा यस वर्ष पर्याप्त हिमपात र वर्षा नहुदाँ आलुमा कीरा लागेको उनीहरूको बुझाई छ । आलुमा डढुवा पनि लागेको छ भने आलुका दाना सबै किराले खाएको देखिएको छ । यस क्षेत्रमा बसोबास गर्ने १५ बढी परिवारले लगाएको आलु यस वर्ष नष्ट नै भएको छ । यहाँका सबै किसान चिन्तित छन ।

 आलुको बिमा गर्न पाएको भए केही हद सम्म राहत हुने रहेछ भन्दै किसानहरू पछुताईरहेका छन् । कृषि बिमाको बारेमा आफूहरू लाई अलि अलि जानकारी भए पनि स्थानीय स्तरमा बिमा गरिदिने मान्छे नहुदाँ किसानहरू चाहेर पनि बिमा गर्न नसकिरहेको आलिताल गाउँपालिका वडा नं.१ का सचिव प्रकाश थापा बताउँछन ।

के छ कृषि बिमा को अवस्था ?

नेपाल सरकारले कृषि तथा पशुपक्षी बिमा तर्फ किसानलाई आकर्षित गर्न २०७० साउन १ गते देखी कृषि तथा पशुपक्षी बिमाको बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । 

२०७८ असोज ७ गते देखी लागू हुने गरी अनुदान वृद्धि गरि ८० प्रतिशत पुर्याइएको छ । किसानले कृषि तथा पशुपक्षीको बिमा गर्नुपरेमा बिमा शुल्कको ८० प्रतिशत रकम सरकारले तिरिदिन्छ भने किसानले केबल २० प्रतिशत तिरे पुग्छ । अझ सुदूरपश्चिमको हकमा ८० प्रतिशत अनुदान संघीय सरकारको तर्फबाट र बाँकी २० प्रतिशत अनुदान सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट व्यहोर्ने व्यवस्था छ । यसो हुँदा सुदूरपश्चिमका किसानलाई कृषि तथा पशुपक्षी बिमा निःशुल्क नै भएको छ । 

तर किसानहरूले सेवा शुल्क वाफतको केही रकम बिमा कम्पनीलाई तिर्नुपर्ने भने हुन्छ । अझ बिमाको अवधीमा बिमितको निधन भएको खण्डमा बिमित व्यक्तिको पनि दुई लाख रकम बराबरको बिमा गरिएको हुन्छ यसरी कृषि तथा पशुपक्षी बिमा गर्दा दोहोरो फाइदा देखिन्छ । समुदाय स्तर सम्म कृषि बिमाको बारेमा जानकारी दिन सकिएको छैन । 

जानकारी प्राप्त गरेको समुदाय सम्म सेवा प्रदायक बिमा कम्पनी हरूको उपस्थिति रहेको छैन । जीवन बिमा कम्पनीको तुलनामा निर्जीवन बिमा कम्पनीमा बिमा अभिकर्ताहरू आकर्षित हुन नसक्दा समुदाय स्तरमा कृषि बिमा गर्न चाहेर पनि गर्न सकिएको छैन ।

सरकारी पक्षबाट कृषि बिमाका लागी शतप्रतिशत अनुदान दिदा पनि किसानहरू कृषि बिमा तर्फ खासै आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमख खेमराज पनेरुले बताए

You might also like