झट्ट हेर्दा बजारमा पाउने रसायनिक मलले उत्पादन बढेको जस्तो लागेता पनि लामो समय रासायनिक मलको प्रयोगले माटोमा अम्लियपन बढी उत्पादन घट्दछ । यो यथार्थलाई किसानहरुले विस्तारै बुझिरहेका छन् ।
रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्तिमा कमी आउने, माटो बिग्रने मात्र नभएर मानव स्वास्थ्यमा पनि असर पर्ने सत्यलाई स्विकार्दै पछिल्लो समय किसानहरु प्राङ्गारिक मलतर्फ आकर्षित हुन थालेका छन् ।
घर तथा भान्साबाट निस्कने कुहिने फोहरहरु बारी तथा घर वरपर पाइने कुहिने घाँसहरुको प्रयोगबाट सहजै बनाउन सकिने गड्यौला मलले पछिल्लो समय किसानहरुको मन जितिरहेको छ । एकातिर फोहरमैला व्यवस्थापन हुने र अर्काे तर्फ मल किन्न लाग्ने आर्थिक श्रोतको बचत पनि हुने हुँदा किसानहरु यस तर्फ आकर्षित भईरहेका छन् ।
कुहिने पदार्थलाई गड्यौलाको प्रयोग गरी अझ कुहाएर मल बनाउन करिब डेढ महिनाको समय लाग्ने र एउटा सामान्य किसान परिवारलाई ३ मिटर लम्बाई २ मिटर चौडाई र सवा १ मिटर उचाईको खाडल बनाएर गड्यौला मल तयार गर्न सकिने डडेल्धुरामा कार्यरत ली–बर्डका कृषि प्राविधिक गणेश पाठकले बताउनुभयो ।
व्यवसायिक खेतीपाती गर्नेहरुले खेतीपातीको स्वरुप र खेतीपाती गर्ने जमिनको क्षेत्रफल अनुसार कति मात्रामा गड्यौला मल उत्पादन गर्ने र कतिवटा च्याम्बर निर्माण गरी गड्यौले मल उत्पादन गर्ने भन्ने कुरा निर्धारण गर्न सकिन्छ ।
गड्यौला मल पानिमा सहजै घुल्न सक्ने हुन्छ र यो मलमा माटोको गुणस्तर सुधार गर्न सक्ने खाद्य तथा पोषक तत्वहरु प्रशस्त मात्रामा पाईने हुँदा अन्य कम्पोष्ट मलको तुलनामा यो मल थोरै प्रयोग गर्दा पनि हुने हुँदा दिगो खेतीपातीको लागी उपयुक्त मल मानिन्छ ।
नेपालमा खेतीपातीको समय आउनै लाग्दा मलको अभाव भएको समाचार बजारमा आउने गर्दछ, पैसा भएर पनि मल पाउन नसक्ने अवस्था रहेको छ, मलमा विचौलियाहरुको हालीमुहाली हुने हाम्रो देशमा गड्यौला मल उत्पादन गरेर मलमा आत्मनिर्भरका साथै कृषिलाई दिगो बनाउन सकिने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरु बताउछन् ।
कृषि प्राविधिकका अनुसार बजारमा पाइने अन्य मल जस्तो तुरुन्तै यसको लाभ देखिँदैन तर प्रयोग गर्न थालेको डेढ दुई वर्षमा यसले मजाले काम गर्न थाल्दछ । ढिला गरी प्रभाव देखिने र समुदाय स्तरसम्ममा गड्यौला मलको फाईदा, यो बनाउने तरिकाको बारेमा व्यापक प्रचारप्रसार हुन नसक्नुले यो प्रविधिको व्यापक प्रसार हुन सकिरहेको छैन ।
नेपालमा अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नीति तथा कार्यक्रमहरु बनाउने समय चलिरहेको छ । नीति तथा कार्यक्रम बनाँउदा लागतको रुपमा निकै सस्तो प्रविधि रहेको गड्यौले मल उत्पादनका लागि सहयोग पुग्ने खालका नीति, कार्यक्रम तथा योजना बनाउन सक्यो भने कृषि प्रधान देशका किसानहरुलाई केही राहत हुन्थ्यो की ?