सडक सञ्जालमा जोडिएसँगै विकट बस्तीहरुको मुहार फेरिदैं

राम धामी
डडेल्धुरा–डडेल्धुराकै विकट बस्ती मानिने परशुराम नगरपालिकाको मलास क्षेत्रमा हाल चार वटा ग्रामीण सडकहरु पुगेका छन । सडक सञ्जालमा जोडिएसँगै मलास क्षेत्रका दुई दर्जन बढि बस्तीहरुको मुहार फेरिन थालेको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट तीन र परशुराम नगरपालिकाको केन्द्र जोगबुडा बजार भएर एक ग्रामीण सडकले मलास क्षेत्रलाई जोडेका छन । हाल विकट बस्तीका नागरिकहरुले सहजै यातायात सेवा प्राप्त गरेका छन । सडक सञ्जालमा जोडिएसँगै विकट बस्तीहरुको मुहार फेरिन थालिएको छ ।

मलाससँगै परशुराम नगरपालिकाको अर्को विकट क्षेत्र ग्वान्नी पनि गतबर्षदेखि सडक सञ्जालमा जोडिएको छ । पछिल्लो समय मलास र ग्वान्नी क्षेत्र जस्तै जिल्लाका अधिकांस विकट बस्तीहरु धमाधम सडक सञ्जालमा जोडिन थालेका छन । विकट ग्रामीण क्षेत्रसम्म यातायात सेवा विस्तार भएपछि स्थानीय जनजीवन सहज बनेको छ । गाँउ बस्तीहरु धमाधम सडक सञ्जालमा जोडिन थालेपछि जीवनस्तरमा सुधार आएको स्थानीय बताउछन ।

डडेल्धुराका सात स्थानीय तहका सबै वडाहरु हाल सडक सञ्जालसँग जोडिएका छन । बस्तीसम्म सडक निर्माण भएपछि यातायात सेवा विकट ग्रामीण क्षेत्रसम्म विस्तार भएको छ । यँहाका स्थानीय तहले विकासका पूर्वाधार मध्ये पहिलो प्राथमिकतामा सडक निर्माण राखेका कारण बर्षेनी सडक विस्तार बढ्दो छ । “गाउँका सबै योजना र विकासे गतिविधिलाई थाँती राखेर भए पनि सडक निर्माण गरिनु पर्छ भन्ने आम मानसिकता छ ।” जिल्लाको पश्चिमी सिमान्त गाँउ सादनीका बिरेन्द्र साँउदले भने, “सडक बिना गाँउको विकासनै सम्भव नभएकाले सडक निर्माणमा प्राथमिकता दिइनु स्वभाविकै हो ।”
विकास भनकोकै सडक हो भन्ने सोचाईका कारण स्थानीय तहमा विनियोजित बजेटदेखि प्रदेश र संघीय सरकारका योजनामा सडक निर्माण कार्य प्राथमिकतामा परेपछि अहिले जिल्लाका ग्रामीण बस्तीसम्म यातायात सेवा विस्तार भइरहेको छ ।

गाउँ स्तरका अन्य शिर्षकमा विनियोजित बजेट समेत सडकमा खर्च गरिने गरेको स्थानीय बताउछन । बर्षादमा बाढी र पहिरोका कारण अवरुद्ध हुने ग्रामिण सडकहरु हिउँदे सडकका रुपमा परिचित छन । बर्षेनी नयाँ सडक ट्रयाक खोल्ने र स्तरोन्नतीमा करौडौं बजेट खर्च भइरहेको छ । कतिपय बस्तीहरुमा आगामी आर्थिक वर्षको बजेट सडकमा खर्च गर्ने भन्दै उधारोमा सडक खन्न काम भइरहेको स्थानीय बताउछन ।

जिल्लाका विकट मानिने अधिकांस बस्तीहरुसम्म हाल सडक बिस्तार भएको छ । कच्ची सडक भए पनि विकट ग्रामीण बस्तीहरुमा यातायात सेवा विस्तार हुुँदा स्थानीय उत्पादनको बजारीकरणबाट समेत सर्वसधारणहरु लाभान्वित भइरहेका छन । गाउँसम्म सडक विस्तारपछि स्थानीयबासीलाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन सजिलो भएको छ । गाउँको शिरदेखि पुछारसम्म सडकको सुविधाले अन्नपात, फलफूल र तरकारीलाई बजार लैजान सहज भएको हो ।

ग्रामीण सडकको पहुँच विकट बस्तीसम्म पुग्दा स्थानीयले कृषिजन्य उत्पादन सहजै बजार पुगाएर आयआर्जन गरिरहेको मलास क्षेत्रका अगुवा बुद्धी धामीले बताए । यातायात सेवा सञ्चालनमा आएपछि विकट बस्तीका बासिन्दाहरु निकै लाभान्वित भएको दाबीगर्दै उनले बर्षायाममा पनि नियमित यातायात सेवा सञ्चालन हुन सकेमा सर्वसधारणलाई अझ सजह हुने स्थानीय धनबहादुर बिष्टले बताए । अधिकांस ग्रामीण बस्तीहरुमा दैनिक जिप र बस सेवा सञ्चालन भइरहेको छ ।


“ग्रामीण सडकले स्थानीय जीवनस्तरमै परिवर्तन ल्याउन थालेको छ,” प्राथमिकताका साथ सडक निर्माणमा लगानी गर्दै आएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी भन्छन, “ग्रामीण क्षेत्रमा वाह्रै महिना यातायात सेवा सञ्चालन हुने गरेर सडकहरुको स्तरोन्नती गर्न सकिएमा बिकट बस्तीहरुको मुहार फेरिन सक्छ ।”

You might also like
Leave A Reply

Your email address will not be published.